बाघडुग्रामा पिकअप भ्यान पल्टिदा 50 जना चियाश्रमिक घाइते

बाघडुग्रा : बाघडुग्राको 31 नम्बर राष्ट्रिय राजमार्गमा चियाश्रमिक सवार भएको एउटा पिकअप भ्यान दुर्घटनाग्रस्त हुँदा लगभग 50 जना श्रमिकहरू घाइते भएका छन्। ती घाइतेहरूमध्ये 2 जना श्रमिकको मृत्यु भएको थाहा लागेको छ। प्राप्त जानकारीअनुसार गुलमा चियाकमानमा चियापत्ता टिप्नको लागि एउटा पिकअप भ्यानमा धेरै संख्यामा श्रमिकहरू सवार भएर गइरहेको समय बाघडुग्रा मुनि चियाकमान संलग्न 31 नम्बर राष्ट्रिय राजमार्गमा उक्त पिकअप भ्यान पल्टिँदा 50 जना श्रमिकहरू घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर बाघडुग्रा अस्पतालमा लगे तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। त्यहीँ घाइतेहरूमध्ये 2 जनाको मृत्यु भएको थाहा लागेको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा उक्त पिकअप भ्यानलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अप्पर बाघडुग्रा ग्राम पञ्चायत प्रधान सञ्जीब सिन्हा लगायत पञ्चायत सदस्यहरू पनि घटनाको खबर पाएर घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *