वाम-कङ्ग्रेसले 11 नम्बर वार्डमा प्रार्थी खडा नगरेपछि भाजपा र तृणमूलमाझ सोझै प्रतिस्पर्धा हुने

सिलगढी :  आगामी 22 जनवरीमा सिलगढी नगरनिगम चुनाउ। हिजो मनोनयन पत्र जम्मा गर्ने अन्तिम मिति थियो। मनोनयन पत्र जम्मा गरेपछि सिलगढीको 11 नम्बर वार्डमा वामफ्रन्ट तथा कङ्ग्रेसले कुनै प्रार्थी खडा गरेको छैन। उक्त वार्डमा भाजपाको तर्फबाट मञ्जुश्री पाल र तृणमूलको तर्फबाट उमा गोयलले चुनाउ लड्नको लागि मनोनयन पत्र बुझाएकी छन्। यसैले अब यस वार्डमा भाजपा र तृणमूल उम्मेद्वारमाझ सोझै प्रतिस्पर्धा हुने निश्चित भएको छ। गत केही सप्ताहदेखि आसन सम्झौतालाई लिएर वामफ्रन्टसित कङ्ग्रेसले चर्चा गर्दै आइरहेको थियो भने 11 नम्बर वार्डमा वामफ्रन्ट र कङ्ग्रेसले कुनै पनि प्रार्थी खडा नगरेको बताइएको छ। वामफ्रन्ट नेता अशोक भट्टाचार्यले भने, आफूहरूको सांगठनिक दुर्बलता रहेकोले गर्दा उक्त वार्डमा कुनै पनि प्रार्थी खडा गर्न सकेनौँ। तथापि, उक्त वार्डका आफ्ना समर्थकहरूले कसलाई मतदान गर्नेछ भन्ने विषयमा हालसम्म निर्णय नलिएको तिनले बताए। अर्कोतिर, कङ्ग्रेस नेता शङ्कर मालाकारले भने, मनोनयन पत्र बुझाउने समय पर्याप्त नरहेकोले गर्दा आफूहरूले प्रार्थी चयन गर्नमा निक्कै असुविधा भएको बताए। सिलगढीको 11 नम्बर वार्डको लागि आफूहरूले प्रार्थी चयन गरे तापनि समयअनुसार मनोनयन पत्र बुझाउन नसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *