वामफ्रन्ट र कांग्रेसले गठबन्धन गरेर चुनाउ लड्ने

सिलगढी : उत्तर बंगालको 4 वटा विधानसभा आसनमा आउँदो चुनाउमा वाम र कांग्रेस मिलेर चुनाउ जित्ने तयारी शुरू गरिएको छ। वाम पोलिट ब्युरो र कांग्रेस हाई कमानको निर्देशअनुसार आउँदो विधानसभा चुनाउ, नगरनिगमको चुनाउ र महकुमा परिषद्को चुनाउलाई केन्द्र गरेर कांग्रेस र वाम दलले गठबन्धन गरेर संयुक्त रूपमा चुनाउ प्रचार शुरू गर्ने भएको छ। मुख्यतः राज्यको तृणमूल र भाजपा सरकारलाई चुनाउमा पराजित गर्ने उद्देश्य लिएर दुई दलले संयुक्त रूपमा चुनाउ प्रचार गर्ने वाम र कांग्रेस नेतृत्वहरूको भनाइ रहेको छ। यसैले आज सिलगढीको अनिल विश्वास भवनमा विधायक तथा वरिष्ठ वामफ्रन्ट नेता अशोक भट्टाचार्य, जीवेश सरकार, कांग्रेसका विधायक तथा वरिष्ठ नेता शंकर मालाकार लगायत दुवै दलका केही शीर्ष नेतृत्वहरूको उपस्थितिमा एउटा बैठक गरेर आगामी 2021-को विधानसभा चुनाउमा गठबन्धन गरिनेबारे चर्चा परिचर्चा गरियो। बैठकपछि अशोक भट्टाचार्यले पत्रकारहरूसितको कुराकानीमा बताएअनुसार आजको बैठकमा केवल चुनाउ गठबन्धनलाई लिएर कांग्रेसका विधायक तथा केही शीर्ष नेताहरूसित बैठक गरियो। यसलाई निरन्तरता दिनको निम्ति फेरि बैठक गरेर विभिन्न भावी परियोजनाहरू तयार गरिने तिनले बताए। यसको साथै आगामी 30 दिसम्बरमा नगरनिगम चुनाउ र महकुमा परिषद्को चुनाउ गरिनुपर्ने मागलाई लिएर महकुमाशासकलाई भेट गरेर एउटा ज्ञापन पत्र चढाइने तिनले बताए। यसबाहेक सिलगढीमा आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर दुवै दलका शीर्ष नेतृत्वहरूको उपस्थितिमा वाम र कांग्रेसले संयुक्त रूपमा एउटा जनसभाको पनि आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *