वामपन्थी, कङ्ग्रेस र ईण्डियन सेकुलर फ्रण्ट प्रार्थी उत्तम शर्माको समर्थनमा खरसाङमा पथसभा

खरसाङ: आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिको लागि वामपन्थी, कङ्ग्रेस र ईण्डियन सेकुलर फ्रण्टको संयुक्त मोर्चाको प्रार्थी उत्तम शर्माको समर्थनमा खरसाङमा आज पथसभा आयोजना गरियो। खरसाङको टुरिस्ट लजबाट एउटा र्‍याली निकालेर खरसाङ बजार परिक्रमा गरेपछि मोटरस्ट्याण्ट पुगेर पथसभामा परिणत भयो। उक्त पथसभालाई सीपीएम दार्जिलिङ जिल्ला किसान सभाका सदस्य निर्मल देवानले अध्यक्षता गरेका थिए। पथ सभालाई सीपीएमका प्रार्थी एवम् संयुक्त मोर्चाको समर्थन रहेको प्रार्थी उत्तम शर्मालाई मतदान गर्ने अपील गर्दै सम्भाषणहरू राखियो। उक्त पथ सभालाई चियाबारी नेत्री रेजिना राई, मिरिकका प्रतिनिधि किस्मत तामाङ, कङ्ग्रेसका पूर्व सांसद दावा नर्बुला, पूर्व विधायक तुलसी भट्टराई, माइनोरिटीबाट अलताभ हुसेन, एसएफआईका सागर शर्मा, दिपशिका शर्मा, नरेन्द्र प्रधान र पूर्व राज्यसभा सांसद समन पाठकले वक्तव्य राखे।


पथ सभापछि पत्रकारहरूसित कुराकानी गर्दै माकपा नेता एवम् पूर्व राज्यसभा सांसद समन पाठकले आज खरसाङमा वामपन्थीको प्रार्थी एवम् कङ्ग्रेस र ईण्डियन सेकुलर फ्रण्टको संयुक्त मोर्चाद्वारा समर्थित प्रार्थी उत्तम शर्माले खरसाङ समष्टिको लागि नामाङ्कन पत्र बुझाएको जानकारी दिए। तिनले भने, हामी राज्यभरिमै तृणमूल कङ्ग्रेसको अगणतान्त्रिक सरकारको विकल्पको रूपमा साथै देशमा रहेको साम्प्रदायिक विवाद ल्याउने तथा किसान विरोधी भाजपाको सरकार बंगालमा आउन नदिने अनि जनतालाई जनताको हातमा शासन सुम्पिने हाम्रो प्रमुख लक्ष्य रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *