वन विभागद्वारा ग्यास लाइटर, माचिस र हतियार साथमा लिएर मानिसहरूलाई जङ्गलमा प्रवेश गर्न निषेध

राजगञ्ज: सिलगढी शहर संलग्न बैकुण्ठपुर जंगलको विभिन्न स्थानमा गत केही दिन अघिदेखि आगो लागीरहेको छ। उक्त आगलागीको चपेटमा परेर बैकुण्ठपुर जंगलको स-साना सबै रूख-पात डढ्नको साथै यहाँको पशु-पक्षी तथा वन्य जीवहरूको जीवन समेत संकटमा परेकोले गर्दा वन विभागले यसको रोकथामको लागि कम्मर कसेको छ। आज बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तको नेतृत्वमा वन संलग्न इलाकाहरूमा यसलाई लिएर माइकिंग गरियो। उक्त माइकिंग मार्फत मानिसहरूलाई चेतावनी दिँदै ग्यास लाइटर, हतियार र मचिस बोकेर जंगलमा प्रवेश गर्न निषेध गरिएको छ भने यदि कसैलाई भेट्टाइएको खण्डमा तिनी विरूद्ध कार्वाही गरिने बताइएको छ।  स्मरण रहोस, गाजोलडोबा नजिक बैकुण्ठपुर जंगलको केही ठाउँहरूमा गत सोमबार डरलाग्दो आगो लागेको थियो। यसैगरी, गत मंगलवार रातिदेखि बुधवार बिहानसम्म पनि सिलगढी शहर अनि त्यसको छेउछाउको इलाकाको आकाशमा धुवाँको मुस्लोले ढाकेको थियो। रेञ्जर सञ्जय दत्तले बताए अनुसार गर्मीको मौसममा जंगलमा भएको रूखका पत्ताहरू सुक्खा हुने गर्दछ अनि धूम्रपान गरेर त्यसको ठुटाहरू फ्याँकीदिँदा आगो लाग्ने गर्दछ। यसवाहेक कतिपय मानिसहरूले जानीबुझी आगो लगाउने गर्दछन्। यसैले माइकिंग गरेर मानिसहरूलाई यसबारे चेतावनी दिएको हो। यस अतिरिक्त होली पर्वमा केही मानिसहरू जंगलमा शिकार खेल्न जाने भएकोले आज बेलाकोवा रेञ्ज अफिसको तर्फबाट गौरीकन, मन्तादारी, बतासीभिटा र शिकारपुर बिट इलाकामा सतर्कता गराउँदै माइकिंग गरिएको तिनले बताए। ग्यास लाइटर, माचिस र हतियारहरू सहित जंगलमा जानेहरूलाई कानूनी कार्वाही गरिने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *