बञ्चरोले प्रहार गरेर नाबालक छोराद्वारा बाबुको हत्या

अलिपुरद्वार : नाबालक छोराले बाबुको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना अलिपुरद्वारको शामुकतला थाना अन्तर्गत रायडक चियाकमानको लङ्कापाडा मास्टर लाइनमा घटेको हो। उक्त घटनापछि इलाकामा सनसनी फैलिएको छ। मृतक बाबु सन्तोष एक्काको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो सन्तो एक्का र तिनको नाबालक छोरा विनीत एक्का घरमा थिए भने सन्तोषको स्वास्नी साउनी तिर्की केही कामले बाहिर गएकी थिइन्। गत अबेर राति छोरा विनीतले बाबुलाई बञ्चरोले प्रहार गरेर हत्या गरेपछि घटनास्थलबाट सुँइकुच्चा ठोकेको बताइएको छ। आज बिहान सन्तोषकी स्वास्नी घर फर्कि आउँदा रक्ताम्मे अवस्थामा सन्तोषको शव ओछ्यानमा देखेपछि छिमेकीहरूलाई घटनाबारे जानकारी गराइन्। यसपछि छोरा विनीतको खोजी शुरू गरिन्। फोनमार्फत् विनीतसित सम्पर्क गर्दा तिनले आमालाई आफूले बुबाको हत्या गरेको बताए। घटनाको खबर पाएर शामुकतला थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार अस्पतालमा पठाएको छ। के कारणले गर्दा नाबालक छोराले बाबुको हत्या गरेको भन्ने बारेमा थाहा लागेको छैन। पुलिसले खुन लागेको बञ्चरो घटनास्थलबाट उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *