बन्द चियाबारीहरूको लिज खारेज गरेर मलाई दिए श्रमिकहरूको रहल खर्च सबै भुक्तान गरिदिने छु: रिम्पोर्छे पेम्बा

खरसाङ (निसं): बन्सल कम्पनी अधीनस्थ रहेको 10 वटा बन्द चियाबारीहरूको लिज खारेज गरेर त्यसको आफुलाई जिम्मेवारी दिए चिया श्रमिकहरूको रहल खर्च सबै भुक्तान गरिदिने खरसाङको रिम्पोर्छे पेम्बा लामाले बताएका छन्। पेम्बा रिम्पोर्छेले बन्सल कम्पनीको लिज खारेज गरेर दशैं अघि एक दिनको पनि समय दिए बन्द रहेको दशवटा चियाबारीहरूका रहल खर्च आफ्नोबाट भुक्तान गरिदिने बताएका छन्। खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै पेम्बा रिम्पोर्छेले भने, ‘बन्द रहेका चियाबारीहरूको श्रमिकहरूको दु:ख देखेर म श्रमिकहरूको हितको लागि अघि आउन खोजेको छु र मलाई बगान चलाउन दिए म रहल खर्च सबै भुक्तान गर्नेछु। श्रमिकहरूको बोनस, रहर ग्राजुएटी र पीएफ होइन तर रहल खर्च सबै भुक्तान गर्न तयार छु। तिनले अझ भने, दार्जिलिङको श्रमिकहरूले थाल ठट्टाउनु पर्ने स्थिति आएको छ, जुन लादमर्दो रहेको छ। राजनैतिक पार्टीहरूले फुलपाती शोभायात्रा आयोजना गर्नु, तीज मनाउनु भन्दा बरु श्रमिकहरूको अवस्था देखेर कार्य गर्नु आवश्यक छ। रिम्पोर्छेले श्रमिकहरूको अवस्था देखेर सरकारलाई आफ्नो कानुनी सल्लाहकारको सहयोगमार्फत आज पत्राचार गर्ने पनि जानकारी गराएका छन्। तिनले श्रमिकहरूको अवस्था विषयमा राज्य सरकार र केन्द्र सरकारले पनि न्याय गरिदिन्छ भन्ने आशा राखेको बताउँदै आफुले बगान चलाउनु पाए खर्च भुक्तान गरिदिने अनि यदि नपाए पनि बन्द श्रमिकहरूको सहयोगको लागि बगानमा आएर सहयोग गर्ने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *