बन्द कलेज भेल्ली चियाकमान खोलिने निश्चित, श्रमिकहरूमा खुशीको माहौल 

सिलगढी : दार्जिलिङमा अवस्थित बन्द अवस्थामा रहेको कलेजभेल्ली चियाकमान खोलाउने विषय लिएर आज सिलगढी लेवर कमिश्नरसित पहाडका प्रायः चारवटा चिया श्रमिक संगठनहरू र मालिक पक्षबीच सिलगढीस्थित डागापुरमा एउटा महत्वपूर्ण बैठक गरियो। यसबारे हिमालयन प्लान्टेशन वर्कस युनियन केन्द्रिय कमिटीका सदस्य तथा तराईका चिफ को-अर्डिनेटर थेवा तामाङले जानकारी दिएका छन। तिनले बताए अनुसार दार्जिलिङको कलेजभेल्ली चियाकमान गत केही वर्षदेखि बन्द अवस्थामा रहेको कारण यहाँका श्रमिकहरूलाई विभिन्न समस्या भइरहेको थियो भने अब त्यो प्रायः अन्त हुनेछ। आज बसेको बैठकमा सिलकोन कम्पनीले उक्त चियाकमान किनेर सन्धी सम्झौता गरेको तिनले जानकारी दिँदै आउँदो केही दिनभित्रै कम्पनीसित अर्को बैठक गरेर कमान खोल्ने मिति तय हुने जानकारी गराएका छन। स्मरण रहोस, कलेजभेल्ली चियाकमान पूर्वमा अल्केमिष्ट नामक कम्पनीले चलाउने गरेको थियो तर सो कम्पनी कतिपय कानूनी झमेलामा परेको हुनाले असमर्थ बनेर कमानलाई बन्द गर्न बाध्य बनेको थियो। कमान बन्द भएपछि यहाँका चिया श्रमिकहरू आफ्नो रोजगारी तथा साहुलियतबाट बञ्चित हुनुपरेको थियो। आजको बैठकमा सिलकोन कम्पनीले कमान किनेर चलाउने भएपछि यहाँका श्रमिकहरूमाझ खुशीको लहर छाएको थेवा तामाङले बताएका छन। आजको बैठकमा एचपीडब्लुयु केन्द्रीय कमिटीका अध्यक्ष डीके गुरुङ पनि प्रमुख रूपमा उपस्थित रहेको तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *