बन्द लङभ्यु चियाकमान आजदेखि खोलियो

खरसाङ : जीटीए अध्यक्ष अनित थापाको पहलमा धेरै समय अघिदेखि बन्द अवस्थामा रहेको खरसाङ महकुमाको लङभ्यु चियाकमान आजदेखि पुनः सञ्चालनमा आएको छ। आज लगभग सयभन्दा अधिक चिया श्रमिकहरू आ-आफ्नो काममा उपस्थित थिए। कमान खोलिएको समय आज अनित थापा स्वयम् बगानमा उपस्थित रहेको देखियो भने तिनले हाम्रो घर आफ्नै भर भन्ने मूल मन्त्रलाई लिएर यो बगान हाम्रै हो, हाम्रै मान्छेले रोपेको हो, यसको हेरचाह पनि हाम्रै मान्छेले गर्छ, तर अब यो बन्द कमानलाई चलाउने क्षमता हुनुपर्छ भनी बताए। यस अवसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा अनित थापाले कमान मालिकले बन्द पनि आधाकल्चो गरेर बन्द गरेको दावी गर्दै कमान हामी सबैले मिलेर खोल्नुपर्छ भन्ने आफूले अगावै भनिसकेको बताए। किनभने मालिकलाई पर्खिरह्‍यो भने ढिलो हुन्छ अनि यहाँको पत्तीको अवस्था हेर्दा ढिलो भइसकेको छ। अब मालिकलाई पर्खने, कम्पनीलाई पर्खने काम छैन किनभने कम्पनीले, सरकारले बकाया राशि समेत दिन नसकेको बताए। तिनले भने, हाम्रो मान्छेलाई भोकै राखेर उनीहरू (मालिकपक्ष) चाहिँ महलमा बस्ने कमानमा एउटा प्रथा छ तर यो प्रथा बन्द गर्नुपर्छ। म जुन ठाउँमा हात हाल्छु त्यो म सफल गरेर देखाइ दिन्छु, यो लङभ्यु कमानलाई जसरी भए पनि चलाएर सफल बनाउनेछु। तिनले कमान खोल्ने विषयलाई लिएर कसैले राजनीति नगरोस् किनभने लङभ्यु चियाकमानका चिया श्रमिकहरूको पेटको सवाल छ, चुल्हाको सवाल छ, बरु यो कमानलाई खोल्नु सबैले एकजुट भएर बुद्धि लगाऊ भनी आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *