खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लङ्गभ्यू को-अर्डिनेशन कमिटीको सभा खरसाङको लङ्गभ्यू-पंखाबारी ब्लक को-अर्डिनेटर मौसम तामाङको अध्यक्षतामा सम्पन्न भयो। सभामा बन्द अवस्थामा रहेको लङ्गभ्यू चियाबारीबारे चर्चा गर्दै यस सम्बन्धमा आगामी चाँड़ै पार्टी अध्यक्ष अनित थापालाई जानकारी गराएर समस्याको समाधान निकाल्ने बताइएको छ। अर्कोतिर पार्टीलाई यस क्षेत्रमा बलियो बनाएर लैजान अब प्रत्येक शाखा-प्रशाखा गठन गरिने निर्णय लिइयो। संयोजक मौसम तामाङले जानकारी गराए अनुसार पार्टीको खरसाङ महकुमा समिति अनि पंखाबारी-अम्बटे समष्टिको निर्देशमा नै लङ्गभ्यूको प्रत्येक गाउँमा भागोप्रमो-को शाखा-प्रशाखा खोल्ने कार्य भइरहेछ भने प्रथममा यहाँको कालीखोला शाखा गठन गरियो। तिनले लङ्गभ्यू चियाबारी अन्तर्गत पर्ने दुर्पीन गाउँ अनि सात घुम्तीको सड़कलाई पूर्ण रूपले निर्माण गर्ने दिशामा कार्य गरिने पनि जानकारी गराए।
