बङ्गाल विभाजनको विरुद्ध सिलगढीमा तृणमूल-को प्रतिवाद र्‍याली

सिलगढी : बङ्गभङ्गको षड्यन्त्रको विरोध, पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रतिवाद लगायत भाजपा नेतृत्वहरूको सहयोगमा बङ्गाललाई विभाजन गर्ने षड्यन्त्रको अभियोग लगाउँदै तृणमूल कङ्ग्रेसले आज सिलगढीमा एउटा र्‍याली निकाल्यो। सिलगढीको मल्लागढीबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि हासमी चोकमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा दार्जिलिङ, अलिपुरद्वार, कुचबिहार, जलपाईगढी जिल्लाका तृणमूल कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरेका थिए। उक्त र्‍यालीको नेतृत्व उत्तरबंग विकास मन्त्री उद्यन गुह, राज्य युवा तृणमूल कङ्ग्रेसका सभानेत्री सायनी घोष, तृणमूलका युवा नेता देवाङ्शु भट्टाचार्य, सिलगढीका मेयर गौतम देव, दार्जिलिङ जिल्ला सभापति पापिया घोष, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती लगायत चारवटा जिल्लाका तृणमूल सभापति लगायत अन्यले गरेका थिए। र्‍याली समाप्त गरेपछि हासमी चोकमा एउटा पथसभाको आयोजना गरियो। पथसभालाई सम्बोधन गर्दै देवाङ्शु भट्टाचार्यले भने, बङ्गाल विभाजन हुँदैन। पहाडदेखि समतलसम्म युनाइटेड बेङ्गल हो। यसैगरी, सायनी घोषले भने, भाजपा-ले बङ्गाल विभाजनको मुद्दा उठाएको छ, तर कुनै फाइदा छैन। तिनले विपक्षी नेता शुभेन्दु अधिकारीको खोइरो खन्दै भने, पहिला तृणमूलको क्षति गरेको थियो अब भाजपा-को क्षति गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *