बांग्लादेशमा तस्करी गर्न अगावै 19 वटा गाई-गोरू सहित 8 जना पक्राउ

सिलगढी : एनजेपी पुलिसले बांग्लादेश तस्करी गर्न अगावै 19 वटा गाई-गोरू जफत गर्नको साथै 8 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले महबुब आलम, जफर अली, एमडी राजु, मोहम्मद रफीकुल, सरीफुल रहमान, हारुन राशिद, सफियार रहमान र सायेद अली सामेल छन् भने यी सबै जलपाईगढी र दार्जिलिङ जिल्ला निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार बांग्लादेशमा 19 वटा गाई-गोरू तस्करी गर्ने उद्देश्य लिएर गत राति 8 जना व्यक्ति फुलबारी सीमा नजिक जयदेवभिटामा भेला भएको थियो। गोप्य सूचनाको आधारमा एनजेपी पुलिसले उक्त क्षेत्रमा अभियान चलाएर 8 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका सबैले धेरै समय अघिदेखि गाई-गोरूको तस्करीमा संलग्न रहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका सबै आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *