बाँसको पुलको भरमा यातायात गर्न बाध्य गाउँलेहरू

राजगञ्ज : राजगञ्जको मान्तादारी ग्राम पञ्चायत अन्तर्गत पर्ने सिमुलगुढी इलाकामा स्थानीय मानिसहरूले दीर्घदिनदेखि नीम नदीमा पुल निर्माण गरिदिने माग गर्दै आइरहेका छन्। स्थानीय मानिसहरूले नदीमा बाँसको पुल बनाएर नदी वारिपारि गर्ने गर्दछन्। तर वर्षाको समयमा नदीमा पानी स्रोत अधिक हुनाले उक्त बाँसको पुल नदीमा भासिने गरेकोले निक्कै समस्या हुने गाउँलेहरूको भनाइ रहेको छ। सिमुलगुढी इलाकाका मानिसहरूलगायत नदी पारिको भोटपाड़ा, चाकियाभिटा, छाट मोलानीगछ र पाखीभाङ्गा गाउँका धेरैजसो मानिसहरू उक्त पुल भएर सिलगढीलगायत अन्य ठाउँमा काम गर्न जाने गर्छन्। यहाँ पक्का पुल नभएको कारण मानिसहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दा तिनीहरूले पुल निर्माण गरिदिने माग गर्दै आइरहेका छन्। चुनाउको समयमा नेताहरूले पुल निर्माण गरिदिने आश्वासन दिए तापनि हालसम्म पुल निर्माण नगरिदिएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। स्थानीय सांसद, परिषद्, विधायक एवम् ग्राम पञ्चायतलाई यसबारे अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको गाउँलेहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *