बढ्दो कोरोनाको संक्रमणबीच नगरनिगम चुनाउ प्रचारमा केही प्रार्थीहरूले नियम उल्लङ्घन गरेको आरोप

सिलगढी : देशभरिमै कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने यता पश्चिम बङ्गालमा पनि कोरोनाको संक्रमण निक्कै बढेको छ। यसैले राज्य सरकारले कोरोनाको बढ्दो मामिलालाई ध्यानमा राखेर राज्यमा आंशिक लकडाउन जारी गरेको छ। कोरोनाको संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर पुलिस प्रशासनले लगातार अभियान चलाएर मास्क नलगाई हिँड्डुल गर्नेहरूलाई पक्राउ समेत गरिरहेको छ। यसैबीच आगामी 22 जनवरीमा सिलगढी नगरनिगम चुनाउ रहेकोले सबै राजनैतिक पार्टीका प्रार्थीहरूले जोडतोडले आ-आफ्नो चुनाउ प्रचार गरिरहेका छन्। कोरोना संक्रमणलाई ध्यानमा राखेर राज्य चुनाउ आयोगले प्रार्थीहरूलाई रोड शो तथा पदयात्रा गर्नमा निषेध गरे तापनि केही प्रार्थीहरूले उक्त निर्देशिकालाई अवहेलना गर्दै पदयात्रा निकालिरहेका छन्। यसको साथै राज्य चुनाउ आयोगले उम्मेद्वार लगायत पाँचजना भन्दा अधिक मानिसहरूलाई साथमा लिएर घर-घर गएर चुनाउ प्रचार गर्ने अनुमति दिएको छैन। तर केही वार्डहरूमा उक्त गाइड लाइन्सलाई पालन नगरेर पदयात्रा निकाल्नको साथै प्रार्थी लगायत 5 जना भन्दा अधिक कार्यकर्ता तथा समर्थकहरू घर घर गएर चुनाउ प्रचार गरिरहेको देखियो। यसको साथै चुनाउ प्रचारको लागि प्रार्थीको साथमा आएका कार्यकर्ताहरूले मास्क समेत लगाएका छैनन्। यसलाई लिएर विपक्षी दलहरूले तृणमूल कङ्ग्रेसमाथि प्रश्न चिन्ह खडा गरेको छ। अर्कोतिर, भाजपा र सीपीआईएमले धेरै ठाउँहरूमा कोरोनाको नियमहरूको उल्लङ्घन गर्दै चुनाउ प्रचार गरिरहेको तृणमूल कग्रेसले आरोप लगाएको छ। यसैगरी, वामफ्रन्टका जिल्ला सचिव समन पाठक र भाजपा नेता राजु साहाले तृणमूलका केही उम्मेद्वारहरूले कोरोना सम्बन्धी नियमहरूलाई पालन नगरी चुनाउ प्रचार गरिरहेको बताउँदै यसबारे चुनाउ आयोगलाई सूचित गराइने जनाए। अर्कोतिर, तृणमूल जिल्ला चेयरम्यान आलोक चक्रवर्तीले भने, अन्य पार्टीका उम्मेद्वारहरूले कोरोना सबै नियमहरूको उल्लङ्घन गर्दै चुनाउ प्रचार गरिरहेका छन्। तथापि, सिलगढीको प्रत्येक वार्डका तृणमूल कङ्ग्रेसका उम्मेद्वार तथा नेताहरूलाई कोरोनाको नियमहरू पालन गर्दै चुनाउ प्रचार गर्ने निर्देश दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *