वर्षौँदेखिको अधुरो सपना साकार, सतीश पोख्रेले गरे नव निर्माण बाटोको उद्घाटन

मझुवा : मझुवा ग्राम पञ्चायतको माथिल्लो भूभाग भीरगाउँ थुम्केको नव निर्माण बाटोको आज गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलले उद्घाटन गरे। वयोवृद्ध गणेशबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व सभासद एवम् गोजमुमो दुई केन्द्रीय उपाध्यक्ष सतिश पोख्रेल मुख्य रूपमा उपस्थित थिए। यसको साथै विशिष्ट अतिथिहरूमा सुके-मानेभञ्ज्याङ सभापति बुद्ध तामाङ, मझुवा ग्राम सचिव मणि ईजम, बतासी भीरगाउँ बुथ सभापति कमल राई र अन्य समाज सेवकहरू उपस्थित थिए। कार्यक्रमलाई सतिश पोखरेल, सचिव मणि ईजम, सुबास राई, कमल राई, डीबी राई अनि बुद्ध तामाङले सम्बोधन गरे। मुख्य रूपमा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको सहयोग तथा सयदिने रोजगार योजना अन्तर्गत निर्माण गरिएको उक्त बाटोले मानेभञ्ज्याङदेखि मझुवा, बतासी माथिल्लो क्षेत्र हुँदै भीरगाउँ, थुम्के लङ्गुरदाङ रेलिङसम्म जोड्ने गर्दछ भने उक्त बाटोले नेपाल सिक्किम समेतलाई जोड़नेछ। यसरी अधुरो रहेको वर्षौँदेखिको सपना साकार भएकोमा बाटो निर्माणमा खटिरहेका गाउँलेहरूले खुशी प्रकट गर्दै गाउँवासी तथा सुपरवाइजरको तर्फबाट दिनेश राईले आजको दिन ऐतिहासिक दिन रहेको बताउँदै सतीश पोख्रेलप्रति आभार व्यक्त गरे। स्मरण रहोस्, विभिन्न बुनियादी समस्याहरूले पिसिएको मझुवा ग्राम पञ्चायतको माथिल्लो भूभाग भीरगाउँ, बतासी अनि थुम्के क्षेत्रवासीहरू हालसम्म थाप्लोको भरमा जीविका चलाउन बाध्य रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *