‘बात होइन, काम चाहिन्छ’ स्लोगनको साथमा भाजपा-द्वारा सिलगढीमा र्‍याली

सिलगढी : सिलगढी नगरनिगममा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको छ भने आज शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरियो। मेयर पदको शपथ लिएपछि गौतम देवले सिलगढी सहरलाई नयाँ तथा उन्नत सहर बनाउने कुरा राखे। अर्कोतिर, सिलगढी सांगठनिक भाजपाको तर्फबाट सहरमा सम्पूर्ण विकास गरिनुपर्ने माग गर्दै यहाँको भेनस मोड़बाट एउटा र्‍याली निकालेर सेभोक रोड हुँदै पुनः भेनस मोड़मा पुगेर समापन गरियो। बात होइन, काम चाहिन्छ भन्ने स्लोगनको साथमा भाजपाका समर्थकहरूले उक्त र्‍यालीमा अंश ग्रहण गरेका थिए। यस अवसरमा विधायक शंकर घोषले सिलगढी नगरनिगमको सबै पार्षदहरू लगायत तृणमूल कङ्ग्रेसलाई नयाँ बोर्ड गठन गरेको बधाई दिए। तिनले मेयर गौतम देवलाई पनि बधाई दिँदै भने, तृणमूल कङ्ग्रेसले धेरै समय अघिदेखि नगरनिगममा बोर्ड गठन गर्ने सपना देखेको थियो भने यसपल्ट सफल भएको छ। यसैले यसपल्ट तृणमूल कङग्रेसले सिलगढी सहरमा सम्पूर्ण विकास गरोस् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *