ब्याडमिन्टन एसोसिएसनद्वारा खरसाङका खेलाडीहरूलाई संवर्द्धना 

खरसाङ : दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसन, दार्जिलिङद्वारा गत 23 अक्टोबर 2021 को दिन आयोजित जिल्ला स्तरीय जुनियर ब्याडमिण्टन ऱ्याङ्किङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने साथै विजयी बनेका खरसाङ ब्याडमिण्टन एसोसिएसनका सबै जुनियर खेलाडीहरूलाई एसोसिएसनको तर्फबाट एउटा कार्यक्रममाझ सम्मान अनि संवर्द्धना जनाइयो। उक्त प्रतियोगितामा अण्डर 13 अनि अण्डर 15 गर्ल्सका दुवै वर्गमा खरसाङ ब्याडमिन्टन एसोसिएसनका बालिका केजिया केम्पे पाखरीनले प्रथम स्थान ओगटेर दार्जिलिङ जिल्ला स्तरीय विजेता बनेकी छन् भने अण्डर-13 वर्गमा क्यारोल छेत्री उप-विजेता बनेकी छन्। अण्डर 17 गर्ल्स वर्गमा श्रद्धा प्रधान, अण्डर –13 गर्ल्स वर्गमा प्रियङ्का प्रधान अनि अन्डर-17 बोइज वर्गमा यलम्बर राई सेमीफाइनलमा उप-विजेता बनेका थिए।


आगामी नोभेम्बर महिनामा रायगञ्जमा हुने राज्य स्तरीय जुनियर ऱ्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा अब यी खेलाडीहरूले दार्जिलिङ जिल्लालाई प्रतिनिधित्व गर्ने छन्। स्थानीय केबीए हलमा सम्पन्न कार्यक्रममा एसोसिएसनका अध्यक्ष नर्बू शेर्पाले अध्यक्षता गरेका थिए भने भारतीय रकबी टीमका कप्तान साथै खरसाङका भूमिपुत्र सुजय लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए। विजयी बनेका खेलाडीहरू साथै अन्य खेलाडीहरूलाई क्रमैले खदा, प्रमाण पत्र अनि ट्रफीहरू प्रदान गरेर संवर्द्धना जनाइयो। यसै कार्यक्रममा भारतीय रकबी टीमलाई अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्ने खरसाङका भूमिपुत्र सुजय लामालाई पनि खरसाङ ब्याटमिन्टन एसोसिएसनको तर्फबाट सम्मान स्वरुप प्रशस्ती पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *