बेहाल अवस्थामा बारीभाषा भीआईपी रोड, गाउँलेहरूद्वारा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

सिलगढी : धेरै दिन अघिदेखि बारीभाषा भीआईपी रोडको सडक बेहाल अवस्थामा रहेको छ भने सडकको बीचमा ठुल्ठुला खाल्डो बनेको छ। अत्याधिक वर्षाले गर्दा उक्त खाल्डोहरूमा पानी जमेपछि परिस्थिति भयावह बनेकोले गर्दा स्थानीय मानिसहरूले आज उक्त खाल्डोहरूमा कचुरीपना रोपेर, बल्छीले माछा मार्दै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। उक्त सडक चाँडै निर्माण गरिदिने तिनीहरूले माग गरेका छन्। स्मरण रहोस, गत 24 मईमा सडक निर्माण गरिदिने माग गर्दै स्थानीय मानिसहरूले सडक अवरोध गरेका थिए। त्यस समय पुलिस प्रशासनले सडक निर्माण गरिदिने वाचा गर्दै 15 दिनको समय मागेको थियो। 15 दिनको समय बितिसके तापनि हालसम्म सडकको मरमति नगरिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसैले आज फेरि सडक निर्माणको माग गर्दै स्थानीय मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस एवम् एनजेपी थानाको ट्राफिक विभागका अधिकारीहरू घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गरेर परिस्थिति नियन्त्रणमा ल्याए। यसपछि स्थानीय मानिसहरूले पथ अवरोध हटाए। स्थानीय मानिसहरूको भनाइ अनुसार प्रतिदिन यहाँ साना-ठुलो दुर्घटनाहरू घट्ने गर्दछ। स्कुलका विद्यार्थीहरू उक्त सडक भएर आवत-जावत गर्ने गर्दछन्। गत 4 वर्षदेखि उक्त सडक बेहाल अवस्थामा पुगेकोले वर्षाको समयमा उक्त सडक भएर हिड्डुल गर्न निक्कै असुविधा हुनको साथै सडकको छेउछाउमा रहेको दोकानहरूमा समेत पानी पस्ने गर्दछ। यसभन्दा अगावै पनि सडक मरमतिको माग गर्दै आफूहरूले सडक अवरोध गरे तापनि हालसम्म कुनै पहल गरेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *