भागोप अध्यक्ष दिवङ्गत सुकमान मोक्तानको सालिगसँगै स्मारिका प्रकाशित गरिने

सिलगढी: भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष स्व. सुकमान मोक्तानको स्मृतिमा तिनको प्रतिमा अनि सुकमान मोक्तान द्वारको निर्माणसँगै स्मारिका प्रकाशित गरिने निर्णय लिइएको छ। स्व. मोक्तानको 49 दिने अन्त्येष्टिको दिन डुवर्सको बाग्राकोटमा आयोजित एउटा बैठकमा यो प्रस्ताव पारित गरिएको बताइको छ। बाग्राकोटस्थित स्व. मोक्तानकै आवासमा तिनका भाइ सितम मोक्तानद्वारा अध्यक्षता गरिएको सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय महासचिव निर्मल कुमार पुन, संयुक्त महासचिव अभय खालिङ, उपाध्यक्षा तथा महिला प्रकोष्ठकी संयोजिका डा. पूनम सुब्बा, सिलगढ़ी क्षेत्रीय समितिका अध्यक्ष भानु मार्मिक, महासचिव गणेश प्रधान र अन्यान्यको उपस्थिति रहेको थियो ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समिति, बाग्राकोट साई समिति लगायत बाग्राकोटका सचेत नागरिकहरूको पनि उपस्थिति रहेको थियो । पत्रकार अजय खड्काद्वारा सञ्चालित सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय समितिले स्व. मोक्तानको प्रतिमा अनि बाग्राकोटका सचेत नागरिकहरूले यहाँको मीना मोड़मा सुकमान मोक्तान द्वारको निर्माण गर्ने भएका छन् ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समितिले स्मारिका प्रकाशित गर्ने, जसको प्रधान सम्पादक बसन्त थापा रहनेबारे भागोपबाट अभय खालिङले सम्पादकको अभिभारा निर्वाह गर्ने प्रस्ताव पारित गरियो। सभामा स्व. मोक्तानको द्वारको उद्घाटन, तिनको प्रतिमाको अनावरण अनि स्मारिकाको विमोचन स्व. मोक्तानको जन्मदिवस अथवा पूण्यतिथिको दिनमा गरिने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *