भागोप्रमो-को स्थापना दिवस पार्टीले उत्सवको रूपमा मनाउनेछ : अनित थापा

खरसाङ (निसं) : आगामी 9 सितम्बरको दिन खरसाङमा पार्टीको दोस्रो स्थापना दिवस मनाउने तयारी विषय चर्चा गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्व, कार्यकर्ताको बैठक खरसाङको नयाँ बजारस्थित कम्युनिटी हलमा सम्पन्न भयो। पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकमा केन्द्रीय रूपमा मनाइने स्थापना दिवस खरसाङमा मनाइने कुरा खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले जानकारी दिएका छन्। अनित थापाले स्थापना दिवस मनाउने विषयमा भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस उत्सवको रूपमा मनाउनुपर्छ। हामी आज जुन मञ्चमा उभिएर बोल्नु सक्दैछौं, हामीलाई मञ्चमा उभिनु लायक बनाउने पार्टीका कार्यकर्ताहरू हुन्। हामी पार्टीको उत्सव पार्टी कार्यकर्ताको सम्मान गरेर मनाउनेछौं। पहाडको राजनैतिक इतिहासमा सायद पहिलोपल्ट हुनुपर्छ कि पार्टी जन्मेको पहिलो वर्षमा नै पार्टीले दार्जिलिङ नगरपालिकाको चुनाउमा 9 सीट हासिल गर्नु सक्यो अनि जीटीए सभामा आफ्नो बोर्ड गठन गर्यो। यो हाम्रो लागि ठूलो उपलब्धि हो।”  तिनले सबैलाई आग्रह गर्दै भने, तर जीतले मात्र हुँदैन। हाम्रो नयाँ सोच अनि विचारलाई अनन्तकालसम्म लैजाउनको लागि पार्टी मजबूत भएको हुनुपर्छ। पार्टीलाई अनन्तकालसम्म बचाउनु हामीले स्थानीय स्तरमा जनताको मन जित्नु सक्नुपर्छ। पहाडमा बीजीपीएमले जीत हासिल गर्यो तर हाम्रो जीतलाई कार्यमा परिणत गर्नु नदिनु धेरै राजनैतिक चालहरू चल्दै गरेको उल्लेख गर्दै तिनले भने, यो भएन, त्यो भएन भन्नेहरू धेरै निस्केका छन् अहिले पहाडमा। निर्वाचित विधायक धरी आफ्नो काम नगरेर बीजीपीएम-को पछि लागेको छ। हामी सिस्टम ठीक गर्नु काम गर्दैछौं तर तिनीहरू हाम्रो भूल कोट्याउनुपट्टि लागेका छन्। बरु यसो गर्यो भने काम ठीक हुन्छ भनेर सुझाउ राख्नु नि? दोष देखाउनु ठूलो कुरा होइन तर काम कसरी अघि लैजानु त्यो कुरामा सुझाउ दिए म सुझाउलाई कार्यमा परिणत गर्नेछु। सभालाई सम्बोधन गर्दै सभासद रतन थापाले भने, खरसाङ महकुमा अधीनस्थ समष्टिका पार्टीका कार्यकर्ता अनि समर्थकहरू भेला हुनेछन् केन्द्रीय समारोहमा। पार्टी कार्यालयमा बिहान झण्डा उत्तोलन गरेर समारोह आरम्भ हुनेछ। 11 बजेदेखि खरसाङ बजार परिक्रमा गरिने कार्यक्रम रहेको छ। जुलूस मन्टिभिएट ग्राउण्डमा गएर स्थापना दिवस समारोहमा समावेश हुनेछ। कार्यक्रमलाई पार्टीका अध्यक्ष अनि महासचिवले सम्बोधन गर्नेछन्। समारोहमा पार्टीका कार्यकर्तालाई पनि संवर्द्धना जनाइनेछ। अर्कोतिर, कालेबुङ जिल्ला समितिले कालेबुङमा अनि दार्जिलिङ महकुमा समितिले दार्जिलिङमा स्थापना दिवस मनाउने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *