‘भैंसी लड्यो है माया’-को गीतकार, सङ्गीतकार कमल दर्नालको स्मृतिमा ‘कमल स्मृति’ पुस्तकको लोकार्पण

खरसाङ : नेपाली साङ्गीतिक आकाशमा कालजयी बनेको भैंसी लड्यो है मायागीतको स्वर्ण जयन्ती पुगेको अवसरमा आज यस गीतको गीतकार एवम् सङ्गीतकार कमल दर्नालको स्मृतिमा तिनकी पत्नी सरिता दर्नालद्वारा प्रकाशित एवम् प्रकाश प्रधानद्वारा सम्पादित कमल स्मृतिपुस्तकको लोकार्पण गरियो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न एउटा कार्यक्रमबीच उक्त पुस्तकको लोकार्पण गरियो। उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा वरिष्ठ कलाकार टंक शर्मा, प्रमुख अतिथिको रूपमा ख्यातिप्राप्त सङ्गीतकार शान्ति ठटाल अनि विशिष्ट अतिथिको रूपमा वरिष्ठ गायिका दिलमाया खाती, ‘भैंसी लड्यो है मायागीतको गायिका डेजी बराईली, कमल स्मृति पुस्तकको प्रकाशिका एवम् गीतकार तथा सङ्गीतकार कमल दर्नालकी पत्नी सरिता दर्नाल विशेष रूपमा उपस्थित थिए। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा कमल स्मृति पुस्तकको सम्पादक प्रकाश प्रधानले स्वागत सम्भाषण राखे भने  कार्यक्रममा डा. जस योञ्जन प्यासीद्वारा लिखित सन्देशलाई कालुसिंह रणपहेंलीले पठन गरे। कार्यक्रममा गीतकार एवम् सङ्गीतकार कमल दर्नालकी पत्नी सरिता दर्नालले सम्बोधन गर्दै आजको दिन एकदमै विशेष दिन रहेको बताइन्। आज सबैतिर कार्यक्रम भए तापनि यस कार्यक्रममा बहुमूल्य उपस्थिति दिएकोमा तिनले सबैलाई आभार प्रकट गर्दै सबै कलाकरहरूको उपस्थितिले आफू धेरै खुशी रहेको बताइन्। यसै कार्यक्रममा भैंसी लड्यो है माया जस्ता कालजयी गीतको गीतकार एवम् सङ्गीतकार कमल दर्नालको स्मृतिमा प्रकाशित कमल स्मृति नामक पुस्तकको लोकार्पण सभाध्यक्ष टंक शर्मा, प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार शान्ति ठटाल, विशिष्ट अतिथिहरू क्रमैले दिलमाया खाती, डेजी बराईली, प्रकाशिका सरिता दर्नाल लगायत दर्नाल परिवारको सदस्यहरूको बाहुलीबाट गरियो।


उक्त कमल स्मृति ग्रन्थको लोकार्पण गरिएको घोषणा प्रमुख अतिथि शान्ति ठटालले गरिन्। यसै कार्यक्रममा भैंसी लड्यो है माया गीत पचास वर्ष पुगेर स्वर्ण जयन्तीको अवसरमा यसको गायिका डेजी बराईलीलाई कमल दर्नाल गुठीको पक्षबाट संवर्द्धना जनाइयो। यस अवसरमा गायिका डेजी बराईलीलाई खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै शल ओढ़ाएर संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। तिनको संवर्द्धना पत्र अञ्जना भण्डारीले पठन गरिन्। कार्यक्रममा गायिका डेजी बराईलीले कालजयी गीत भैंसी लड्यो है माया गाइन् भने गायिका नम्रता बलले पनि गीतकार कमल दर्नालको शब्द र सङ्गीतमा रहेको गीत गाइन्। यसैगरी, कमल दर्नालको शब्द र सङ्गीतमा रहेको गीतमा नै प्रेरणा थापाद्वारा नृत्य प्रस्तुत गरियो। कार्यक्रममा उपस्थित भएका अनि कमल स्मृति ग्रन्थमा शुभकामना र रचना लेखिदिने सबैप्रति प्रकाशिका सरिता दर्नालद्वारा खदार्पणसहित पुस्तक प्रदान गरियो। कार्यक्रममा जीबी बलले कमल दर्नालको शब्दमा रहेको गीतमाथि धुन पनि बजाए। कालजयी गीत भैंसी लड्यो है माया-का गीतकार एवम् सङ्गीतकार कमल दर्नालको जन्म 10 जनवरी 1952 मा भएको थियो भने तिनको निधन 26 दिसम्बर 1988 -मा भएको थियो। तिनले धेरै कालजयी गीतहरू लेख्नको साथै सङ्गीत पनि भरेका थिए। तिनको स्मृतिमा तिनकी पत्नी सरिता दर्नाल एवम् परिवारद्वारा कमल स्मृति पुरस्कार प्रदान गर्ने गरेको छ। यस पुरस्कारद्वारा हालसम्म 6 जना साङ्गीतिक क्षेत्रका कलाकरहरूलाई अलङ्कृत गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *