भाजपा-द्वारा सिलगढी नगरनिगम चलो अभियान 30 नोभेम्बरमा गरिने

सिलगढी : सिलगढी नगरनिगमको चुनाउभन्दा अगावै सिलगढीमा आफ्नो स्थिति अझ बलियो बनाउने उद्देश्य लिएर भाजपाका विधायकहरूले आगामी 30 नोभेम्बरमा सिलगढी नगरनिगम चलो अभियानको आह्वान गरेको छ। आज सिलगढीको मल्लागढी भाजपा पार्टी कार्यालयमा सम्पन्न एउटा बैठक अवधि सिलगढीका विधायक शंकर घोषले पत्रकारहरूलाई यसबारे जानकारी गराए। विधायक शंकर घोषले भने, राज्य सरकारद्वारा गठित वर्तमान सिलगढी नगरनिगमको प्रशासनिक बोर्डले साधारण मानिसहरूलाई नागरिक परिसेवा प्रदान गर्नमा पूर्ण रूपमा निष्क्रिय रहेको छ। सिलगढीवासी पिउने पानीको समस्या, सड़क, नाला आदि व्यवस्थासित जुझिरहेका छन् भने सहरका मानिसहरूले वृद्धा भत्ता लगायत रासन समेत पाएका छैनन्। यसैले आगामी 30 नोभेम्बरको दिन भाजपाले सिलगढी नगरनिगम चलो अभियान कार्यक्रमको आह्वान गरेको छ। तिनले राज्य सरकारमाथि कटाक्ष कस्दै भने, कोलकाता नगरनिगम चुनाउ भइरहेको छ भने यता सिलगढी नगरनिगमको चुनाउ हालसम्म गरिएको छैन।  राज्य सरकारले आफ्नो मनपरी गरिरहेको छ। अर्कोतिर, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन तथा डाबग्राम-फुलबारीका विधायिका शिखा च्याटर्जीले पनि राज्य सरकारको आलोचना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *