भाजपा जिल्ला उपाध्यक्ष सावन राईको निधन

दार्जिलिङ (निसं): भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला उपाध्यक्ष सावन राई अब रहेनन्। आज सोमबार बिहान सिलगढ़ीमा उपचार चलिरहेको समयमै तिनको निधन भएको जानकारी प्राप्त भएको छ। अलग राज्य गोर्खाल्याण्डको मागमा तत्कालीन राज्यको सत्तामा रहेको माकपाभित्रै क्रान्ति गरेर 1996-मा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेताहरूमध्ये एक सावन राई जाति उन्मुक्तिको संघर्षमा निकै लामो समयदेखि जोड़िएका थिए। चियाश्रमिकहरूका हितैषी एवम् पहाड़कै एक जुझारू मानिएका नेता सावन राईको निधनले दार्जिलिङको राजनीतिमा ठूलो क्षति पुगेको छ। विगत केही समयदेखि रोगबाट पीड़ित रहेका सावन राईको सोमबार बिहानीपख निधन भएको पारिवारिक सूत्रले जनाएको छ। तिनको निधनमा भाजपा नेता एलएम लामाले पनि गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। तिनले सावन राईको निधनले दार्जिलिङ पहाड़को राजनीतिमा ठूलो क्षति पुगेको बताएका छन्। दार्जिलिङ पहाड़को राजनीतिमा धेरै वर्ष सेवा पुऱ्याउने, मजदुर, शिक्षकहरुका हितैषी, जाति मुक्तिको लागि सचेत र जुझारु नेता, भूतपूर्व शिक्षक एवम् वर्तमान भाजपा दार्जिलिङ जिल्ला कमिटीका उपाध्यक्ष दार्जिलिङको मेरिबुङ चियाबगान निवासी सावन राई गत केही दिनदेखि सिलगढ़ीको एउटा निजी अस्पतालमा उपचाराधीन अवस्थामा थिए। जहाँ तिनको आज निधन भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *