भाजपाको संकल्प पत्रमा उल्लेख दुई मुद्दाहरूको चाँडै समाधान हुनेछ : सांसद विष्ट

सिलगढी : दार्जिलिङ लोकसभा सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टले केन्द्रीय गृहमन्त्रीसित भएको बैठक फलप्रद रहेको बताएका छन्। तिनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दार्जिलिङ क्षेत्रका भाजपा गठबन्धन दलहरूको एउटा प्रतिनिधि टोलीले भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयसित दार्जिलिङ, पहाड, तराई र डुवर्स सम्बन्धित विभिन्न विषयमाथि छलफल गर्न केन्द्रीय गृह राज्य मन्त्री जी किशन रेड्डी तथा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूसित भेट गरे। प्रतिनिधि टोलीले केन्द्रीय गृह राज्यमन्त्री रेड्डीलाई दार्जिलिङ, तराई, डुवर्स क्षेत्रको स्थितिबारे जानकारी गराए। लगभग डेढ घण्टासम्म चलेको बैठकमा दार्जिलिङ, तराई, डुवर्स क्षेत्रसित सम्बन्धित विशेष गरेर दुईवटा मुद्दाहरू छुटेका 11 जातिलाई जनजातिको दर्जा प्रदान गर्ने र स्थायी राजनैतिक समाधानको मागबारे विस्तृत रूपमा चर्चा परिचर्चा गरिएको कुरा सांसद विष्टले जानकारी गराएका छन्। गृहमन्त्रीले प्रतिनिधि टोलीका सदस्यहरूलाई केन्द्र सरकारद्वारा यी दुवैवटा मुद्दालाई लिएर भाजपाको सरकार वचनबद्ध रहेकोले यसको चाँडै समाधान गर्ने दिशामा ध्यानपूर्वक कार्य गरिरहेको बताए भने यी दुवै मुद्दाको सम्बन्धमा अहिलेसम्मको प्रगतिबारे पनि जानकारी दिएको विष्टले बताएका छन्। तिनले जनाएअनुसार गृह राज्यमन्त्री रेड्डीले छुटेका 11 गोर्खा जातगोष्ठीलाई जनजातिमा सामेल गर्ने प्रक्रिया अघि बढिरहेको र यस सम्बन्धमा केन्द्रीय गृह मन्त्रालयद्वारा प्रक्रियालाई अति शीघ्र पुरा गर्ने अनुरोधको साथ रेजिस्टर जेनरल अफ् इन्डियालाई पत्राचार गरिसकेको छ।


छुटेको 11 जातगोष्ठीलाई चाँडोभन्दा चाँडो जनजातिमा सामेल गर्ने दिशामा सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको छ भने गृह राज्य मन्त्रीले प्रतिनिधि टोलीका सदस्यहरूलाई आश्वस्त गराएको कुरा विज्ञप्तिमा सांसद विष्टले उल्लेख गरेका छन्। यसको साथै स्थायी राजनीतिक समाधानको बारेमा गृह राज्य मन्त्रीले चिकन नेक क्षेत्रमा शान्ति, स्थिरता र आर्थिक विकासको महत्वबारे सरकार पूर्णतया अवगत रहेको र सरकार यस दिशामा सक्रिय रूपले अघि बढिरहेको छ भनी प्रतिनिधि मण्डललाई अवगत गराएको बताइएको छ। दार्जिलिङ पहाड, तराई, डुवर्ससित सम्बन्धित यी दुईवटा मुद्दा भाजपा सरकारले आगामी केही महिनामा समाधान गरिदिने कुरामा विश्वास व्यक्त गर्दै सांसद विष्टले विज्ञप्तिमा जनाएका छन्। केन्द्रीय गृह राज्य मन्त्रीसितको भेटमा गएका प्रतिनिधि मण्डलका सदस्यहरूमा सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ, क्रामाकपा अध्यक्ष तथा पूर्व सांसद एलबी राई, अभागोली नेता प्रताप खाती, गोरानिमो दावा पाख्रीन, सुमेटी मुक्ति मोर्चाबाट विकास राई, भाजपाका कल्याण देवान, गोरामुमोका महेन्द्र छेत्री, क्रामाकपाका किशोर प्रधान र दार्जिलिङका विधायक निरज जिम्बा सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *