भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन

नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत गरिएको छैन, यसको साथै अस्पतालमा बिरामीहरूको लागि प्रतिक्षालय भए पनि उनीहरूले यसको प्रयोग गर्न सकिरहेका छैनन्। यी सबै गुनासोलाई लिएर नक्सलबारी मण्डल भाजपाको तर्फबाट आज विरोध प्रदर्शनको आयोजना गरियो। यस सन्दर्भमा, नक्सलबारी मण्डल भाजपा अध्यक्षले भने, ब्लक स्वास्थ्य अधिकारी आफै पनि ठीकसँग काममा आउने गर्दैनन्। उनले चाँडो सेवा सुधार्न पर्छ भन्ने हामीले माग गरेका छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *