भाजपा प्रार्थी दुर्गा मुर्मूको पक्षमा चियाकमानमा गेट मीटिङ

खोरीबारी : आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर फाँसीदेवा विधानसभा क्षेत्र भारतीय टी वर्कर्स युनियनको तर्फबाट बिजलीमुनि चियाकमानमा चिया श्रमिकहरूलाई लिएर आज गेट मीटिङको आयोजना गरियो। उक्त गेट मीटिङमा चिया श्रमिकहरू हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै भाजपा प्रार्थी दुर्गा मुर्मूको पक्षमा मतदान गर्ने अपील गरियो। उक्त गेट मीटिङमा भाजपा उम्मेद्वार दुर्गा मुर्मू लगायत बीटीडब्ल्युयु फाँसीदेवा प्रखण्ड अध्यक्ष राजकुमार किण्डो, स्थानीय कार्यकर्ता तथा चिया श्रमिकहरू उपस्थित थिए। भाजपा प्रार्थी दुर्गा मुर्मूले ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले चिया श्रमिकहरू लगायत साधारण मानिसहरूको लागि जनविरोधी कार्य गरिरहेको आरोप लगाउँदै केन्द्रको भाजपा सरकारले चिया श्रमिकहरूको हितमा धेरै महत्वपूर्ण कार्यहरू गरेको बताए। आउँदो विधानसभा चुनाउमा भाजपाले जीत हासिल गरेर बङ्गालमा सरकार गठन गरेपछि चिया श्रमिकहरूको विविध समस्याहरूको समाधान गरिदिने तिनले आश्वासन दिए। यसको साथै चिया श्रमिकहरूको दैनिक न्यूनतम मजदुरी 350 रुपियाँ गरिने, चिया श्रमिकहरूलाई जमीनको पर्जापट्टा दिइने तिनले बताए। गेट मीटिङ अवधि चिया श्रमिकहरूले आफ्नो पक्षमा मतदान गर्ने आश्वासन दिएकोले जीत निश्चित रहेको दावी गर्दै तिनले पूर्ण बहुमत पाएर बङ्गालमा भाजपाको सरकार गठन हुने ठोकुवा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *