भाजपाप्रति दार्जिलिङ पहाडका मानिसहरूको विश्वास हुँदैछ भङ्ग

सिलगढी : भारतीय जनता पार्टीले आउँदो 2021-मा सम्पन्न हुने पश्चिम बंगाल विधानसभा चुनाउलाई ध्यानमा राखेर राज्यकै सबैभन्दा बढी महत्व उत्तर बंगाललाई दिइरहेको प्रतीत हुँदछ। यसैले नै हालै भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा उत्तर बंगालको एकदिने भ्रमणको क्रममा सिलगढी आएर उत्तर बंगालका भाजपाका शीर्ष नेतृत्वहरूसितको बैठकमा आगामी विधानसभाको चुनाव रणनीतिमाथि चर्चा गर्नको साथै सांगठनिक गतिविधिलाई अझ तीव्र पार्नेबारे चर्चा परिचर्चा गरेर फर्किसकेका छन्। विशेष गरेर उत्तर बंगाललाई नै सिँढी बनाएर भाजपाले बंगालमा आफ्नो आधिपत्य जमाउन चाहेको देखिँदैछ। गत लोकसभा चुनाउमा उत्तर बंगालको 8 मध्ये 7 वटा आसनमा भाजपाको जीत भएकोले गर्दा नै आउँदो विधानसभा चुनाउमा पनि यहाँको मोठ 54 विधानसभा आसनमध्ये 50 वटा आसन जित्ने भाजपाले सपना देख्न थालेको छ। तर विगत लोकसभाको अवधि भाजपाको परिस्थिति अनि वर्तमान परिस्थितिमा आकाश पातालको फरक देखापरेको छ। भाजपाको कतिपय कार्य तथा निर्णयहरूले गर्दा यहाँका धेरैजसो मानिसहरूको पार्टीप्रति मोह भङ्ग भएको राजनैतिक पर्यवेक्षकहरू बताउँछन्। विशेष गरेर गत लोकसभा अनि विधानसभाको उपचुनाउमा गोजमुमो विमल खेमा अनि अन्य सहयोगी दलहरूको हात पक्रिएर चुनाउ जितेपछि चुनाउ घोषणा पत्रमा गरेका वाचाहरू अझसम्म पुरा नभएपछि पहाडका धेरैजसो विमल पन्थीका समर्थकहरूले भाजपाप्रतिको विश्वास हटेर गएको कुरा निर्धक्कसँग भन्न थालेका छन्। गत धेरै वर्ष अघिदेखि नै पहाडबाट पलायन भएर हाल अज्ञात स्थानमा रहेका गोजमुमो विमल पन्थीका केन्द्रीय नेता नरेन्द्र काम्बाङले समेत विज्ञप्ति जारी गरेर भाजपाबाट धन्यवाद होइन गोर्खाल्याण्डको अपेक्षा गरेको साथै भाजपालाई गोर्खा जातिले विमल गुरूङको नेतृत्वमा गोर्खाल्याण्डको निम्ति चुनाउमा सहयोग गरे तापनि भाजपाले यसको बद्ली आश्वासन अनि राजनैतिक फाइदा मात्र गरेको भन्दै तिनले रोष प्रकट समेत गरेका छन्।


यसको साथै आउँदो चुनाउमा भावनात्मक रूपको बद्ली ब्यालेटले जवाब दिनेबारे विज्ञप्तिमा उल्लेख गरेर दार्जिलिङमा भाजपाको सबैभन्दा नजिकको मानिने विमल खेमा समेत भाजपासँग रुष्ट भएको देखिन्छ। यसको साथै हालै मिरिक महकुमा समितिका विमल पन्थी गोजमुमोले पनि पत्रकार सम्मेलन गरेर यस्तै प्रकारको मन्तव्य प्रकट गरेको कुराले पनि पहाडमा अब भाजपाप्रतिको विश्वास मानिसहरूबाट हट्दै गएको देखिन्छ। यसबाहेक गत लोकसभा अनि विधानसभामा भाजपाको सहयोगी दल क्रामाकपाले पनि भाजपाले आश्वासनभन्दा धेर ठोस काम गरेर देखाउने सुझाउ दिएको छ। यसको साथै भाजपाले सङ्कल्प पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधानलाई कार्य रूपमा परिणत गर्नुपर्ने पार्टीका प्रवक्ता गोविन्द छेत्रीले दिएको वक्तव्यले पनि अब बिस्तारै भाजपाप्रति क्रामाकपाको पनि दूरी बढ्दै गएको देखिन्छ। यस्तो परिस्थितिमा अब भाजपाले कि त चुनाउ अघि नै आफूले गरेको वाचा पुरा गर्नुपर्यो नत्र दार्जिलिङ पहाडको तीनवटा विधानसभा आसन हत्याउन भाजपाले फलामको चिउरा चपाउनु समतुल्य देखिँदैछ। यसैगरी, उत्तर बंगालका कतिपय ठाउँहरूमा पनि भाजपाको यस्तै परिस्थिति देखापरेको जानकारहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *