भारत-बङ्ग्लादेश सिमानाको जिरो पोइन्टमा बसोबास गर्ने परिवारसित भेटे राजगञ्जका बीडीओले

फुलबारी: राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज फुलबारी 2 ग्राम पञ्चायतको  काँढे तारको पारि चम्पदगछमा बसोबास गर्ने मानिसहरूको खोज खबर लिए। तिनले आज भारत-बङ्ग्लादेश सिमानामा रहेको जिरो पोइन्टमा पुगेर त्यहाँ बसोबास गर्ने परिवारको अभाव, गुनासो तथा समस्याहरू सुनेर समाधान गरिदिने आश्वासन दिएका छन्। राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायतको 45 परिवार भारत-बङ्ग्लादेश सीमाको जीरो पोइन्टमा बसोबास गर्दछन्। हाट-बजार, शिक्षा, स्वास्थ्य तथा रोटी लगायत सबै आवश्यकताहरू पुरा गर्नको लागि यी परिवारहरूले काँढे तार पार गर्नु पर्दछ। राजगञ्जका बीडीओले आज ती परिवारहरूसित भेट गरेर तिनीहरूको विविध अभाव-अभियोगहरू सुने। यस विषयमा बीडीओ प्रशान्त बर्मनले भने, जिरो पोइन्टमा 45 भारतीय परिवार बसोबास गर्छन्। यी परिवारले लक्ष्मी भण्डार, वृद्धाभत्ता, विधवा भत्ता, कन्याश्री, ऐक्यश्री लगायत राज्य सरकारको अन्य योजनाहरूको सुविधा पाएका छन् अथवा छैनन् भन्ने विषयमा जानकारी लिनको लागि आज उक्त इलाकामा आएको हो। यस अवधि तिनीहरूले केही अभाव तथा अभियोगहरू सुनाए। सरकारी योजनाको सुविधा पाउने योग्य परिवार तथा व्यक्तिलाई दिने प्रयास गर्नेछु। स्थानीय मानिसहरूले बताएअनुसार पहिलोपल्ट कुनै बीडीओ आफूहरूको खोज खबर लिनको लागि गाउँमा आएको छ। गाउँमा बीडीओ आएर खोज खबर लिएकोमा निक्कै खुसी छौँ। यस अवधि आफूहरूले बीडीओलाई विविध असुविधा तथा अभियोगहरू बताएपछि तिनले यसको समाधान गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *