भारतीय टोलीका पूर्व हकी खेलाडी भरत छेत्रीले भेटे अनित थापालाई, जीटीए-मा हकी एकाडेमी स्थापनाको निम्ति चढाए ज्ञापन

खरसाङ (निसं): जीटीए क्षेत्रमा हकी एकाडेमी स्थापना गर्ने उद्देश्यले भारतीय हकी टोलीका पूर्व खेलाडी भरत छेत्रीले आज जीटीए चिफ अनित थापासँग खरसाङमा भेटघाट गरे। यस अवसरमा भरत छेत्रीले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा हकी एकाडेमी स्थापना गर्ने आफ्नो इच्छा जाहेर गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापालाई सहयोग माग्दै तिनले एकाडेमी स्थापनाको निम्ति ज्ञापन पत्र पनि चढाए। जीटीए क्षेत्रमा हकी एकाडेमी स्थापना गर्नुको मुख्य उद्देश्य यस क्षेत्रका नानीहरुलाई राज्य अनि राष्ट्रिय हकी खेलमा भाग लिने मौका प्रदान गर्नु अनि खेल आरक्षणमार्फत शिक्षा अनि रोजगारको मौका दिलाउनु रहेको तिनले बताएका छन्। भरत छेत्रीले भने, जीटीए क्षेत्रमा हकीको खेलाडी जन्म दिने कुनै मञ्च छैन। यहाँका नानी (बालक-बालिका)-हरुमा हकी खेलाडी बन्ने प्रतिभा रहेको छ साथै तिनीहरू उत्साहित पनि छन्।
अर्कोतिर,जीटीए प्रमुख कार्यपाल अनित थापाले पनि हकी एकाडेमी स्थापनाको निम्ति उत्साह देखाएका छन्। तिनले तुरन्तै सम्बन्धित अधिकारीलाई फोनमार्फत यस विषयलाई अघि लैजाने निर्देश दिएको बताइएको छ। तिनले अझ भने, हामी बाटो घाटोको निर्माण गर्छौ तर यदि एकाडेमी स्थापना गर्नु सकिए पहाडको निम्ति ठूलो सम्पत्ति हुनेछ। सेन्ट टेरेजा स्कूलका एकजना हकी खेलाडीले ओडिसासम्म खेल्नु गएको कुरा गर्दै तिनले भने, हाम्रा नानीहरूमा प्रतिभा छ। हामीले राम्रो प्रशिक्षण दिएर जीटीए कै एउटा हकी टीम तयार गर्नु सक्छौ।
स्मरण रहोस, भरत छेत्री 16 माइल, कालेबुङका निवासी हुन। तिनी भारतीय राष्ट्रीय हकी टीमका पूर्व खेलाडी हुन्। तिनले 2001 अनि 2006 को हकी वर्ल्ड कपमा स्वर्ण पदक प्राप्त गरेका छन्। तिनले 2012-को ओलम्पिक खेलमा भाग लिएका थिए भने 2010 को कमनवेल्थ गेम्समा काँस्य पदक प्राप्त गरेका थिए। तिनलाई 2008 मा ध्यान चन्द पुरस्कारले सम्मान जनाइएको थियो। तिनी बंग रत्न (2016) अनि बङ भूषण (2022)-ले पनि विभूषित खेलाडी हुन्। यसवाहेक, तिनी चार वर्षसम्म भारतीय महिला अनि पुरुष हकी टोलीका प्रशिक्षक थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *