भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-को केन्द्रीय समिति गठन, अब नेतृत्वहरूले 45 वटै समष्टिको परिभ्रमण गर्ने

दार्जिलिङ :  अनित थापाको नेतृत्वमा गत 9 सेप्टेम्बरको दिन गठन गरिएको नयाँ राजनीतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको एउटा महत्वपूर्ण सभा आज सेन्टल हेरिटेज होटल दार्जिलिङमा सम्पन्न भयो। उक्त सभामा प्रजातान्त्रिक मोर्चाका शीर्ष 61 जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने शीर्ष नेतृत्वहरूद्वारा गरिएको बहसपछि आजको सभामा पार्टीको केन्द्रीय समितिका केही पदाधिकारीहरूलाई चयन गरिएको सभापछि नव नियुक्त पार्टी प्रवक्ता दुर्गा खरेल र केशवराज पोख्रेलले जानकारी दिएका छन्। तिनीहरूले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय समिति अध्यक्ष अनित थापा, उपाध्यक्षहरू क्रमैले सतीश पोख्रेल, रूदेन सादा लेप्चा, डीके प्रधान, कर्णल केशव राई (भूतपूर्व), महासचिव अमर लामा, सहसचिव सञ्चवीर सुब्बा, ज्योति कुमार राई तथा प्रवक्ताहरू दुर्गा खरेल र केशवराज पोख्रेललाई छनौट गरिएको छ। यसैगरी, आजको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको अध्यक्षको पदमा श्रीमती छिरिङ लामा दाहाल, सचिव श्रीमती प्रतिभा कुमाईलाई छनौट गरिएको छ। यसबाहेक भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिका अध्यक्षको रूपमा अमृत योञ्जनलाई चयन गरिएको बताइएको छ। तिनीहरूले बताएअनुसार जनचेतना, जनआह्वान अनि जनसम्पर्क कार्यक्रम लिएर अब पार्टीका नेतृत्वहरूको एउटा टोलीले सबै 45 वटा समष्टिको परिभ्रमण गर्ने भएको छ। दुर्गा खरेलले दिएको जानकारीअनुसार रिम्बिक लोधोमाबाट पार्टीले जनसभा शुरू गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा पार्टीको विभिन्न जनसभाहरूमा भिजन डक्युमेन्ट पनि सार्वजनिक गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *