भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिले आगामी पञ्चायत चुनाउलाई लिएर सांगठनिक गतिविधि शुरू गरेको छ। यसै क्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको घैयाबारीस्थित पार्टी कार्यालयमा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा विशेष गरेर महानदी ग्राम पञ्चायत स्तरीय कमिटी, घैयाबारी ग्राम पञ्चायत तीन र शिवखोला ग्राम पञ्चायत स्तरीय कमिटीहरू र पार्टी कार्यकर्ताहरूलाई लिएर सम्पन्न भएको हो। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिका उप सभापति धिरेन प्रधानको अध्यक्षता र समष्टिका सांगठनिक सचिव बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भयो।


उक्त सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, सांगठनिक सचिव सीबी राई, महानदी ग्राम पञ्चायतका संयोजक श्यामकुमार खवास, घैयाबारी ग्राम पञ्चायत तीनका संयोजक प्रेम प्रधान, शिवखोला ग्राम पञ्चायतका संयोजक राजु लामा, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिका सचिव सञ्जीव मंगर, सभाध्यक्ष एवम् तीनधारे महानदी समष्टिका उप सभापति धिरेन प्रधान आदिले आ-आफ्नो वक्तव्य राखे। वक्ताहरूले आगामी पञ्चायत चुनाउलाई लिएर पार्टीको सांगठनिक गतिविधि र क्रियाकलाप विषयमा वक्तव्य राखे। सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने तीनवटा ग्राम पञ्चायतहरू क्रमैले महानदी, शिवखोला र घैयाबारी ग्राम पञ्चायत तीनको पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *