भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्तिको सांगठनिक कार्यक्रम

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति अहिले खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टिहरूको भ्रमण गर्दै सांगठनिक रूपमा आफ्नो गतिविधि तीव्र पार्दै आइरहेका छन्। युवा शक्ति केन्द्रीय समिति र खरसाङ महकुमा समिति मिलेर विभिन्न समष्टिहरूमा पुगेर सभाहरू गरिहेका छन्। गत 5 दिसम्बरदेखि शुरू गरेको समष्टि भ्रमण अन्तर्गत हालसम्म 6 वटा समष्टिहरूको भ्रमण गरेर सांगठनिक सभाहरू गरिसकेको छ। यसै विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधान, केन्द्रीय प्रवक्ता निरज थापा र खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङले आज खरसाङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका छन्। युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै युवा शक्ति केन्द्रीय समिति र खरसाङ महकुमा समिति मिलेर खरसाङ महकुमाको 13 वटै समष्टिहरूमा पुगेर सांगठनिक सभाहरू गरिरहेको र हामीले समष्टिहरूमा युवाहरूको संगठन के कस्तो छ र कसरी पार्टीको गतिविधिहरू चलिरहेछ भन्ने विषयहरूमा सांगठनिक सभाहरू गरेको बताए। तिनले गत 5 दिसम्बरदेखि थालेको भ्रमण अन्तर्गत हामीले आजसम्म 6 वटा समष्टिहरू भ्रमण गरिसकेको र ती समष्टिहरूमा सिटोङ लाटपञ्जार, मङपु-लाब्दातकदाह टिस्टाभेल्ली, तकदाह ग्लेनवर्ण, तकलिक पेशोक र खरसाङ गिद्धे पहाड़ समष्टिहरूमा भ्रमण गरिसकेको बताए। महासचिव सदीप प्रधानले अब फेरि सोमबारदेखि अन्य समष्टिहरू पनि भ्रमण गरेर खरसाङ महकुमाभित्र पर्ने 13 वटै समष्टिहरूको भ्रमण गरी सांगठनिक गतिविधिहरू तीव्र गर्ने र युवाहरूलाई सांगठनिक रूपमा सक्रिय पारेर लैजाने बताए। प्रधानले पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै भने, हामीले आफ्नो पार्टीको गतिविधि के कस्तो छ र आगामी दिनमा युवा शक्तिले भागोप्रमोलाई कसरी सहयोग गरेर लैजाने तथा सांगठनिक रूपमा सभाहरू, कोठे बैठकहरू गर्दै युवाहरूको मनोबल बढ़ाउँदै अघि बढ़िरहेको बताए। तिनले अहिलेसम्म आफूहरूले भ्रमण गरेको समष्टिहरूमा हेर्दा पार्टीको पकड़ राम्रो रहेको र युवाहरू पनि सक्रिय रहेको साथै दलको स्थिति राम्रो देखिएको बताए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा शक्तिको केन्द्रीय प्रवक्ता निरज थापाले भने, हाम्रो यो क्षेत्रीय भ्रमण शिक्षित युवाहरूको सक्रियता कति छ र कसरी शिक्षित युवाहरूलाई अघि लिएर अघि बढ़नुपर्ने भन्ने विषयमा हो भनी बताए। तिनले हामीसित राम्रो परिणाम पनि आइरहेको सातै धेरै शिक्षित युवा जमातहरू पार्टीमा जोड़िएको छ र हाम्रो पहाड़ राम्रो पहाड़ भन्ने पार्टीको सोच लिएर विभिन्न समष्टिहरूमा गएर सांगठनिक कार्यहरू गरिरहेको बताए। थापाले भोलिको दिनमा हामीले शिक्षित युवाहरूलाई लिएर अघि बढ़ने उद्देश्य राखेर कार्य गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *