भारतीय रेड क्रस सोसाइटी खरसाङ शाखाद्वारा पत्रकारहरूलाई सम्मान

खरसाङ : भारतीय रेड क्रस सोसाइटी, खरसाङ शाखाद्वारा विश्व रेड क्रस दिवसको अवसरमा हिजो पत्रकारिताको माध्यमबाट समाजलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेका पत्रकारहरूलाई सम्मान जनाइयो। विशेष गरेर पत्रकार मुररीलाल पञ्चमी, पत्रकार सुवास छेत्री अनि त्रिवेणी नेटवर्क च्यानलका अशोक शर्मा, नमस्ते खरसाङ च्यानल आदिलाई खदा लगाइदिएर, फुलको गुच्छा अनि सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। पत्रकारहरूलाई प्रदान गरिएको सम्मान पत्र सोसाइटीका सदस्य देवराज राईले पठन गरे। कार्यक्रमका मुख्य अतिथि खरसाङ महकुमा शासक तथा खरसाङ रेड क्रस सोसाइटीका चेयरम्यान एजाज अहमदले कसैलाई पनि दु:ख परेको खण्डमा नि:स्वार्थ भावले सहयोग गर्ने आग्रह गरे। तिनले आफुले गर्ने काममा कुनै पनि जात, धर्म, सम्प्रदाय आदिलाई नछुट्टाइ गरिए, त्यो नै साँचो कर्म हो भनी बताए। खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले विश्व रेड क्रस सोसाइटी दिवस मनाउनुको उद्देश्य र औचित्यबारे प्रकाश पारे भने तिनले सोसाइटी अन्तर्गत खरसाङ शाखाले गरिरहेको कार्यको प्रशंसा गर्दै विश्व रेड क्रस दिवसको शुभकामना दिए। पत्रकार मुररीलाल पञ्चमीले सोसाइटीद्वारा यसरी आफूहरूलाई सम्मान जनाइएको सम्पूर्ण पत्रकारहरूको पक्षबाट कृतज्ञता व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *