भारतीय टी वर्कर्स युनियनद्वारा विभिन्न चियाकमानहरूमा गेट मीटिङ

नक्सलबारी : भारतीय टी वर्कर्स युनियन नक्सलबारी प्रखण्ड कमिटीको तर्फबाट चिया श्रमिकहरूको हितमा विभिन्न मुद्दालाई लिएर आज एउटा र्‍याली निकालेपछि गेट मीटिङको आयोजना गर्यो। बीटीडब्ल्युयु नक्सलबारी प्रखण्ड सचिव प्रेम प्रकाश ओझाले बताएअनुसार नक्सलबारी प्रखण्ड अन्तर्गत लगभग 30 हजार चिया श्रमिकहरू विभिन्न चियाकमानहरूमा कार्यरत छन्। ती चिया श्रमिकहरूले विभिन्न समस्याहरूको सामना गर्न परिरहेकोले गर्दा नै युनियनको तर्फबाट तिनीहरूको हितको लागि आवश्यक कदम उठाएको तिनले बताए। यसै क्रममा आज बेलगाछी टी गार्डन, मारापुर, मन्झा, ओआरडी तराई, तिराना आजमाबाद, अटल पहारगुमिया आदि चियाकमानमा गेट मीटिङ गरेर विविध मागहरू गरियो। गेट मीटिङ गर्न अघि एउटा र्‍याली पनि निकालिइयो। प्रेम प्रकाश ओझाले बताएअनुसार न्यूनतम दैनिक मजदुरी, स्टाफ-सब स्टाफको एरियर, जमीनको पट्टा, अतिरिक्त पत्ती टिपाईमा भुक्तान गरिनुपर्ने, चिया श्रमिकका नानीहरूको लागि वाहन, घर आदि मागहरूलाई लिएर आज गेट मीटिङ गरिएको हो। चिया श्रमिकहरूलाई तिनीहरूको हक दिलाउन बीटीडब्ल्युयु तत्पर रहेको बताउँदै यदि माग पुरा नगरिएको खण्डमा युनियनको तर्फबाट वृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। यस अवसरमा बीटीडब्ल्युयु सेन्ट्रल कमिटी सचिव उमा शङ्कर दुबे, नक्सलबारी प्रखण्ड कमिटी अध्यक्ष जेम्स खालको, महासचिव रामा शङ्कर चौधरी, सचिव प्रेम प्रकाश ओझा लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *