भारतीय अण्डर-19 विजेता फुटबल टीमका सदस्य दार्जिलिङका खेलाड़ी बृजेस गिरीलाई खरसाङमा भव्य स्वागत

खरसाङ (निसं) : दार्जीलिङका एक प्रतिभाशाली खेलाड़ी, भारतीय अण्डर 19-को विजेता टीमका सदस्य बृजेश गिरीलाई खरसाङ फुटबल एसोसिएशनले खरसाङमा स्वागत जनायो। स्वागत कार्यक्रममा एसोसिएशनका अध्यक्ष नर्बु शेर्पा, उपाध्यक्ष अर्जुन शर्मा, सचिव सुदिप राई, कार्यकारिणी सदस्य विमल मुखिया, यूकेएफसी-का सचिव विशाल शर्मा, टीम मेनेजर मेघराज थापा, आरजे 32 फुटबल अकादमीका मुख्य प्रशिक्षक जितेन राई अनि सहायक रञ्जीत तामङ, भागोपाप नेता तथा खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरूङ, खरसाङ डिभिजनल बडिबिल्डिङ एवम् फिटनेश एसोसिएशनका अध्यक्ष तथा अन्तर्राष्ट्रिय बडिबिल्डिङ निर्णायक सञ्जय छेत्री, उपाध्यक्ष देवराज भण्डारी अनि अन्यान्य खेल प्रेमीहरू उपस्थित थिए। बृजेश गिरी एसएएएफ अण्डर 19 फुटबल टुर्नामेन्टमा भाग लिएर आज आफ्नो घर दार्जीलिङ फर्किरहेको समय खरसाङको मोटर स्ट्याण्डमा तिनको लागि स्वागत एवम् अभिनन्दन कार्यक्रम गरियो। खरसाङ फुटबल एसोसिएशन अनि अन्य संघ-संस्थाद्वारा स्वागत अनि अभिनन्दन जनाइएकोमा बृजेश गिरी अनि तिनका पिता बाला गिरीले हर्ष प्रकट गर्दै धन्यवाद दिए। स्मरण रहोस्, बृजेश गिरीका पिता बाला गिरी पनि एक असल फुटबल खेलाड़ी हुन्। यस अवसरमा पत्रकारहरूसित कुरा गर्दै बृजेश गिरीले भने, यसरी एउटा गरिमामय फुटबल टुर्नामेन्टमा खेल्ने मौका पाउँदा मलाई धेरै खुशी अनि गर्व अनुभव भएको छ। आगामी दिनमा फुटबल खेललाई निरन्तरता दिँदै युरीफमा खेल्ने मेरो लक्ष्य रहेको छ। भविष्यमा पहाड़का युवाहरूको निम्ति एउटा रोल मोडल बन्न सकुँ यही मोरो इच्छा छ। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले बृजेश गिरीलाई पहाड़का युवा अनि किशोर-किशोरीहरूको निम्ति प्रेरणा बताउँदै बृजेशप्रति सबैले गर्व गर्नु पर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *