भोरेर आलोमा नवनिर्मित सस्पेन्सन ब्रिज नजिक फ्लाईओभरमा डम्परमा आगलागी

गजलडोबा (निसं): गजलडोबाको भोरेर आलोमा नवनिर्मित सस्पेन्सन ब्रिज नजिक फ्लाईओभरमा गुडिरहेको डम्परमा आगो लाग्दा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार चलिरहेको डम्बरको क्याबिनमा अचानक आगो लागेको एकै क्षणमा आगोले उग्र रूप लियो। उक्त डम्बरका चालक र खलासीले तत्कालै डम्परबाट बाहिर निस्केर आफ्नो ज्यान जोगाउन सफल भए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार उदलाबारीबाट बलुवा बोकेरे एउटा डम्पर आमबारीतर्फ गइरहेको समय भोरेर आलोमा सस्पेन्सन ब्रिजको फ्लाईओभरमा चढ्न साथ अचानक डम्परको क्याबिनमा आगो लाग्यो। सस्पेन्सन ब्रिजमा कामको लागि राखिएको पानीको ट्याङ्कीको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर फुलबारीबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगे तापनि त्यसभन्दा अगावै स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइसकेको थियो। के कारणले गर्दा चल्दै गरेको डम्परमा आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। आगलागीको कारण सस्पेन्सन ब्रिजमा वाहनहरूको चलाचल बन्द गरिदिएको छ। अर्कोतिर, घटनाको खबर पाएर भोरेर आलो पुलिस घटनास्थलमा पुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *