विधान मार्केटमा लगातार छिनताईको घटनाले व्यवसायीहरू चिन्तित, पुलिस अधिकारीसित बैठक

सिलगढी : सिलगढीमा चोरी, लुट र छिनताई जस्ता घटनाहरू लगातार बढ्दै गइरहेकोले सुरक्षालाई लिएर विधान मार्केटका व्यवसायीहरू चिन्तित बनेका छन्। विधान मार्केट व्यवसायी समितिका सदस्यहरूले आज पुलिससित एउटा बैठक गरे। व्यवसायीहरूको आरोपअनुसार विधान मार्केटमा केही दिनदेखि छिनताईको  घटना बढ्दै गइरहेको छ। यसभन्दा अघि पनि यहाँको दोकानहरूमा चोरी भएपछि व्यवसायी समितिले सुरक्षा गार्ड नियुक्त गरेको थियो भने हाल बजारमा छिनतई जस्ता घटनाहरू निक्कै बढेर गएकोले मार्केटको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भइरहेको तिनीहरूले बताए। अधिक भीड़भाड़ हुने मार्केटमा मौका पाउनसाथ केही बदमाशहरूले ब्याग, रुपियाँ लगायत मोबाइल फोन खोसेर चम्पट कस्ने गरेको तिनीहरूले बताए। मार्केटको विभिन्न सडकमा सीसीटीभी क्यामारा जडान नगरिएकोले दुष्कृतिहरू भाग्नमा सफल भइरहेका छन्। यस सम्बन्धमा आज व्यवसायीहरूले पुलिससित एउटा महत्वपूर्ण बैठक गरे। व्यवसायी समितिका सचिव बापी साहाले बताएअनुसार बजारको विभिन्न सड़कहरूमा सीसीटीभी क्यामारा जडान गरिनुपर्ने अति नै आवश्यक रहेको छ। एसजेडीएले सीसीटीभी क्यामारा लगाउने आश्वासन दिएकोले यस सम्बन्धमा नयाँ चेयरम्यानसित कुराकानी गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *