विधानसभा चुनाउको रणनीति तयार गर्न सिलगढीमा भाजपाको सभा

सिलगढी : विधानसभा चुनाउको रणनीति तयार गर्ने उद्देश्य लिएर सिलगढीमा आज भाजपाको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा आउँदो विधानसभा चुनाउको रणनीतिबारे चर्चा परिचर्चा गरियो। आगामी 17 अक्टोबरको दिन गृहमन्त्री अमित शाह एक दिने उत्तर बंगाल भ्रमणमा आउने भएकोले सभामा तिनको भ्रमण अवधि के-कस्ता कार्यक्रमहरू रहनेछ भन्नेबारे चर्चा गरियो। उक्त सभामा हुगलीका भाजपा सांसद लकेट च्याटर्जी मुख्य रूपमा उपस्थित थिइन्। हाथरस घटनालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले प्रदर्शन गरिरहेको विषयमा तिनले मुख्यमन्त्रीले आफ्नो राज्यलाई छोड़ेर अन्य राज्यलाई लिएर राजनीति गरिरहेको बताइन्। बंगालको राजगञ्ज एवम् विभिन्न ठाउँहरूमा युवतीहरूमाथि लगातार दुष्कर्म भइरहे तापनि मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त ठाउँहरूमा र्‍याली साथै आवाज नउठाएको आरोप लगाइन्। तर उत्तर प्रदेशको घटनालाई लिएर भने बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राजनीति गरिरहेको बताइन्। तिनले अझै भनिन्, बंगालको जनताले तृणमूल कांग्रेस होइन भाजपाको सरकार चाहन्छ। राज्य भाजपा महासचिव भाजपा नेता सायन्तन बसुले तृणमूल कांग्रेस अब कुनै अस्तित्व नरहेको बताउँदै तृणमूले केवल राजनीति मात्र गर्ने गरेको बताए। तिनले नवान्न चलो अभियानबारे बोल्दै उक्त घटना अति लज्जाजनक रहेको बताए। राज्यका पर्यटन मन्त्री गौतम देवले आफ्नो विधानसभा क्षेत्रमा लगभग 80 हजार भोटले पराजित भए तापनि अझै राजनीति गरिरहेको छ भन्दै तिनले कटाक्ष कसे। आजको सभामा भाजपा केन्द्रीय कमिटीका सचिव अरविन्द मेनन, केन्द्रीय कमिटीका उप सभापति शिव प्रकाश, हुगलीकी सांसद लकेट च्याटर्जी, जलपाईगढीका सांसद जयन्तो राय, बालुरघाटका सांसद सुकान्ता मजुमदार, सांसद निशित प्रमाणिक, सांसद जोन बारला लगायत भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *