विधानसभा चुनाउमा भाजपा पराजय निश्चित : ममता ब्यानर्जी

अलिपुरद्वार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज अलिपुरद्वार परेड ग्राउन्डमा जनसभालाई सम्बोधन गर्दै केन्द्रको भाजपा सरकारको खोइरो खने। यसको साथै तिनले आफ्नो दल छोडेर जाने नेताहरूको आलोचना गर्दै लोभीहरू पार्टी छोडेर अन्य दलमा जान सक्नेछन् भनी बताइन्। भाजपामा सामेल हुने राजीव ब्यानर्जीको नाम उच्चारण नगरी मुख्यमन्त्री ममताले वन सहायक पदमा भ्रष्टाचार भएको मामिला आफूसमक्ष आएको छ, जसको जाँच चलिरहेको छ भनी बताइन्। यसबाहेक भाजपामाथि कटाक्ष कस्दै मुख्यमन्त्री ममताले भनिन्, भाजपालाई विदाई देऊ, किनभने भाजपाले देशलाई बेचिदिन्छ। भाजपाले केवल चुनाउ अघि झुटो वाचा गर्ने गर्दछ। भाजपाले चुनाउ अघि बन्द चियाकमान खोल्ने वाचा गरे तापनि चुनाउ जितेपछि सबै वाचाहरू भुलेको मुख्यमन्त्री ममताले आरोप लगाइन्। राज्य सरकारले सबै शरणार्थी कोलनीहरूलाई पट्टा प्रदान गरिरहेको साथै चियाकमानको विकासको लागि राज्य सरकारले धेरै कार्यहरू गरेको तिनले दावी गरिन्। नारायणी सेनाको लागि विज्ञप्ति जारी भइसकेको छ, यसमार्फत् अब धेरैजना मानिसहरूले रोजगारको अवसर पाउनेछन् भनी तिनले बताइन्। आगामी 7-8 दिनको अवधिमा विधानसभाको चुनाउ घोषणा हुने तिनले सम्भावना व्यक्त गर्दै भाजपालाई वासिङ मसिनको संज्ञा दिएर भ्रष्टाचार, चोर र बदमाशहरू सबै भाजपामा सामेल भइरहेकोले गर्दा आउँदो विधानसभा चुनाउमा तृणमूलको जीत निश्चित रहेको तर भाजपा पराजय हुने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *