विधानसभा चुनाउमा भाजपा-ले 200 आसन जित्ने प्रह्लाद सिंह पटेलको दावी

सिलगढी केन्द्रिय संस्कृति तथा पर्यटन राज्य मन्त्री प्रहलाद सिंह पटेलले आज सिलगढी हिलकार्ट रोडस्थित भाजपा पार्टी कार्यालय जयमुनि भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको सत्तारूढ तृणमूल सरकारको खोइरो खने। राज्य सरकारको एजेन्सीले केन्द्र सरकारको कुनै पनि परियोजनाहरूमा काम गर्न नचाहेको बताउँदै उदाहरणको रूपमा तिनले बेलुर मठलाई लिन सकिन्छ भनी बताए। वर्ष 2016-17 -मा केन्द्रको तर्फबाट राज्यको पर्यटन विभागलाई विकास गर्ने तथा पर्यटन स्थलहरूमा विकासको काम गर्नको लागि रुपियाँ आवन्टन गरिएको थियो। तर उक्त आवन्टित रुपियाँ खर्च नगरिएकोले गर्दा बेलुर मठको काम रामकृष्ण मिशनलाई सुम्पिदिएको तिनले बताए। स्वामी विवेकानन्दको जन्म स्थलमा राज्य सरकारद्वारा शुरू गरेको कार्य हालसम्म पुरा नभएको बताउँदै तिनले बंगालमा आगामी विधानसभा चुनाउ शान्तिपूर्ण ढङ्गमा होस् भन्ने उद्देश्य लिएर चुनाउ आयोगले यसको अवलोकन गरिरहेको बताए। आउँदो विधानसभा चुनाउमा भाजपाले 200 आसन हत्याउने तिनले दावी गरे। के बंगालमा विधानसभा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुनेछ भन्नेबारे गरिएको प्रश्नको उत्तरमा तिनले दुई दिन अघि मात्र जम्मू कश्मिरमा भएको चुनाउको उदाहरण दिँदै त्यहाँको चुनाउको परिणाम सबैलाई ज्ञात रहेको बताए। यसको साथै तिनले केन्द्रको तर्फबाट विभिन्न राज्यका प्रतिनिधिहरूलाई लिएर बोलाएको एउटा भर्चुअल बैठकमा राज्यका पर्यटन मन्त्री गौतम देवले पनि अंश ग्रहण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *