मिरिक: सरकारले निम्न वर्गका मानिसहरूकाको लागि शुरू गरेको विभिन्न आवास योजनाबाट निर्माण गरिने घर आवश्यक मानिसले पाउन सकोस् भनेर आज खरसाङ विधानसभा आसनका विधायक बीपी बजगाइँले मिरिक खण्ड विकास अधिकारीसित भेट गरे। तिनले आज मिरिक अनि सौरेनी क्षेत्रका 215 जना आवश्यकमन्द मानिसहरूको सूची तयार पारेर आवश्यक कागज पत्रको साथमा घर निर्माणको लागि मिरिक खण्ड विकास अधिकारीलाई बुझाएको जानकारी गराएको छ। यस प्रकारको कार्य खरसाङ विधानसभा आसनभित्र पर्ने सबै खण्ड विकास कार्यालयमा गरिने बताइएको छ। यस अभियानको थालनी आजदेखि मिरिक खण्ड विकास कार्यालयबाट शुरू गरिएको विधायक बजगाइँले बताएका छन्। तिनले स्थलगत भ्रमण गरेर तथ्याङक सूची तयार पारिएको, जसमा हालसम्म पनि घर निर्माण हुन नसकेका मानिसहरूको नाम रहेको जानकारी गराउँदै अति आवश्यक मानिसहरूले नै घरको सुविधा पावोस् भन्ने उद्देश्य लिएर आफुहरूले सूची तयार पारेर खण्ड विकास अधिकारीलाई बुझाएर तिनलाई घरको लागि अति आवश्यक मानिस चयन गर्न सहयोग गरेको बताए। विधायक बजगाइँले बताए अनुसार सरकारको विभिन्न आवास योजनाहरू रहे तापनि आवश्यक मानिसहरूले अझसम्म घर पाउँन नसकेको जानकारी गराउँदै विगतमा कतिपय अनाश्यक व्याक्तिहरूको घर निर्माण भएको छ भने गाईको गोठ समेत आवास योजना मार्फत गरिएको छ। घर निर्माणमा पक्षपात भएको तिनले आरोप लगाएका छन्। तथापि अबउसो यस्तो घटना नहोस् भनेर आफुले आफ्नो विधानसभा क्षेत्रको घर निर्माण हुन नसकेका अति आवश्यकमन्द मानिसहरूको तालिका तयार पारेर खण्ड विकास अधिकारीलाई प्रदान गर्ने अभियान थालेको विधायकले जानकारी दिएका छन्। तिनले मिरिक खण्ड विकास अधिकारीले सूची प्राप्त गरेपछि सकारात्मक लिएको जानकारी गराउँदै मिरिक खण्ड विकास अधिकारीसित मनरेगा, सेरीकल्चर लगायत अन्य विषयमा पनि चर्चा भएको बताए। मिरिक खण्ड विकास अधिकारीलाई भेट गर्ने विधायक विपी बजगाँईको टोलीमा भाजपा राज्य कमिटीका सदस्य हरी प्रसाद निरौला, जिल्ला उपाध्यक्ष केके सिह, जिल्ला सचिव तुलसी मास्के, सौरेनी मण्डल अध्यक्ष प्रविण राई, मिरिक मण्डल सचिव आनन्द राई आदि उपस्थित थिए।
