विधायक निरज जिम्बाद्वारा अग्नि पीडित परिवारलाई सहयोग

सोनादा : गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत अध्यक्ष मन घिसिङको निर्देश अनुसार विधायक निरज जिम्बाले वर्तमान कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै आफ्नो राहत वितरण कार्यहरू गर्दै आइरहेका छन्। यसैगरी, बर्खा यामको समय अविरल वर्षाको कारण भल पैह्रोले क्षतिग्रस्त भएको पीडित परिवारहरूलाई तारपोलिन वितरण गरि सहयोग पुर्‍याउदै आएका छन्। यसै क्रममा तिनले आफ्नो अभियानलाई जारी राख्दै हालै खरखाङ महकुमा अन्तर्गत सोनादा गोराबारी मन्दिर डाँडा निवासी शरण राईको घर ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको सूचना गोराबारी फाटक निवासी आनन्द राईले विधायक निरज जिम्बालाई गराएका थिए। विधायक निरज जिम्बाले हिज सोनादा गोराबारी मन्दिर डाँडा आएर शरण राईको घर निरीक्षण गरी पीडित राईको आगलागीमा क्षतिग्रस्त भएको घर पुनर्निर्माणको निम्ति आर्थिक सहयोग, टिनको छाना साथै तारपोलिन प्रदान गरे। पीडित शरण राईले यसरी विधायक निरज जिम्बाले सहयोग पुर्‍याउँछ भनेर आफूले कहिले पनि नसोचेको साथै तिनको विधान सभा क्षेत्र नपरे तापनि आफूलाई एउटा मानवताको नाताले सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद अनि आभार व्यक्त गरे। यसको साथै विधायक निरज जिम्बालाई सूचना दिएर सहयोग पुर्‍याएकोमा तिनले आनन्द राईलाई पनि धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *