विधायक रुदेन लेप्चाले आफ्नो वचन पूरा गर्दै अस्थायी गोर्खे पुलको निर्माण कार्य शुरू

कालेबुङ: कालेबुङ जिल्लाको लिङ्से-लिङ्सेखा क्षेत्रलाई जोड्ने गोर्खे पुल जीर्ण अवस्थामा पुगेपछि विधायक रूदेन सादा लेप्चाले गत 16 जूनको दिन उक्त पुलको भ्रमण गर्दै आफ्नो पक्षबाट पहल गरेर यथाशीघ्र समाधानको निम्ति कार्य गर्ने वचन दिएका थिए। सोही वचनलाई पूरा गर्दै यस वर्खायामको निम्ति लिङ्से-लिङ्सेखा क्षेत्रका मानिसहरूलाई यातायातमा असुविधा नहोस् भन्ने हेतुले अस्थायी पुल निर्माण कार्य सुरु गरेको छ। विधायक लेप्चाले दिएको वचन अनुसार अस्थायी रूपमा पुल निर्माणको कार्य सुरु भएपछि क्षेत्रवासीले खुशी व्यक्त गर्दै विधायक रूदेन सादा लेप्चाप्रति आभार प्रकट गरेका छन्। यसबारे गोर्खा जनमुक्ति मोर्चा 38 नम्बर समष्टि महासचिव सुमन गुरुङले विधायक रूदेन सादा लेप्चाले लिङ्से-लिङ्सेखावासीको समस्या समाधान गर्नको लागि आफ्नो विधायक कोषबाट पाँच लाख रुपियाँ अस्थायी रूपमा पुल निर्माणको निम्ति प्रदान गरेको तथा पुल निर्माणको निम्ति मिस्त्रीहरू पनि पठाएर जाँच तथा आवश्यक नापजोग गरेपछि आजबाट निर्माण कार्य शुरु भएको जानकारी गराए। अबको हप्ता-दस दिनको अवधिमैं अस्थायी रूपमा पुल निर्माण हुने तथा यातायात सुचारू बन्नेछ भन्दै तिनले सम्पूर्ण लिङ्से-लिङ्सेखा, कागे, 38 नम्बर समष्टि समिति एवम् जनताको पक्षबाट विधायक रूदेन सादा लेप्चालाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *