विद्यार्थी समूहद्वारा महानदीमा 18 वर्ष पुगेकाहरूका लागि भ्याक्सिन शिविरको आयोजना

खरसाङ : खरसाङ खण्ड अन्तर्गत महानदीमा विद्यार्थीहरूको समूहद्वारा आज 18 वर्ष माथिकाहरूलाई भ्याक्सिन लगाउनको लागि शिविरको आयोजना गरियो। महानदीको गाँधी स्मारक प्राथमिक पाठशालामा सम्पन्न भ्याक्सिन शिविरमा महानदी ग्राम पञ्चायत क्षेत्र लगायत बाहिरका सबैको लागि पनि भ्याक्सिन लगाउने कार्य सम्पन्न भयो। यस शिविरमा दिनभरिमा 234 जनाले भ्याक्सिनको पहिलो खोप लगाए। उक्त शिविरमा सुकना खण्ड स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मीहरू उपस्थित थिए। यस शिविरमा 18 वर्षदेखि माथिका मानिसहरू लगायत 45 वर्षमाथिकाहरूले पनि भ्याक्सिन लगाए। आजको भ्याक्सिन शिविर विषयमा महानदी क्षेत्रका विद्यार्थीहरूको सामाजिक संगठनको प्रमोद खड़काले पत्रकारहरुसित कुराकानी गर्दै महानदी क्षेत्रका विद्यार्थीहरूद्वारा गठित संगठनद्वारा महानदीको समाज र नयाँ समीकरणको नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सहयोगमा भ्याक्सिनको शिविर आयोजना गरिएको बताए। तिनले महानदी ग्राम पञ्चायत क्षेत्र र बाहिरकाहरूलाई पनि भ्याक्सिन लगाउने कार्य गरेको बताउँदै विशेष गरी स्कूल, कलेज पढ्ने विद्यार्थी भाइ बहिनीहरूले भ्याक्सिनको शिविर आयोजनाको लागि अनुरोध गरे अनुसार आज आफुहरूले शिविरको आयोजना गरेको बताए। त्यसरी विनित प्रधानले यस शिविर आयोजनाको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *