ब्रिगेन गुरुङ खरसाङ नगरपालिकाको नयाँ चेयरम्यान चयन

खरसाङ : भाइस चेयरम्यान ब्रिगेन गुरुङ खरसाङ नगरपालिकाको नयाँ चेयरम्यान चयन भएका छन्। खरसाङ नगरपालिकाको प्रेक्षागृहमा बसेको एउटा बैठकमा आज खरसाङ नगरपालिकाको वार्ड पार्षदहरूले सर्वसम्मतिले ब्रिगेन गुरूङलाई खरसाङ नगरपालिकाको नयाँ चेयरम्यानको रूपमा चयन गरियो। यसैगरी वार्ड नम्बर 20 का पार्षद सुवास प्रधानलाई भाइस चेयरम्यानको पदमा चयन गरियो। नयाँ चेयरम्यान चयन भएपछि ब्रिगेन गुरूङले खरसाङ नगरपालिकाको चेयरम्यानको गरिमामय पदमा चयन गरेकोमा सबै पार्षदहरूप्रति आभारी प्रकट गर्दै चेयरम्यान एक्लैले केही गर्नु नसक्ने भन्दै सबैबाट सकारात्मक सहयोगको अपेक्षा राख्ने बताए। तिनले ब्रिगेन गुरुङ मात्र चेयरम्यान होइन तर हामी सम्पूर्ण पार्षदहरू नै चेयरम्यान जस्तो भएर खरसाङ नगरपालिकाको निम्ति काम गर्नु सकौं र यसको लागि हामी एकजुट भएर काम गर्नुपर्छ भनी बताए। तिनले अझ भने, अब रहेको एक वर्षमा जति पनि कामहरू थाँतीमा रहेको छ ती सबै पुरा गर्नेछौं र बिग्रेको कामलाई सपार्ने छौं भन्दै आफू कुनै जदुवाला होइन कि एउटा लट्ठी घुमाउने बित्तिकै काम भइहाल्छ, म पनि मान्छे नै हुँ, भुल गर्नु मानव स्वभाव हो तर सानो सानो भुललाई शुरूमै सम्हाल्नु सकिएन भने सम्हाल्नु नसकिने भुल गर्नदेखि बाचौं, ठुलो ठुलो भुलहरूदेखि बाँचेर खरसाङ नगरपालिकालाई प्रगतिको पथमा लैजाऔं भन्दै तिनले सबैसित अपील पनि गरे। गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले नयाँ चेयरम्यान चयन भएका ब्रिगेन गुरूङ अनि भाइस चेयरम्यान सुवास प्रधानलाई बधाई दिँदै नगरपालिका यस्तो व्यवस्था हो जहाँबाट नगरपालिकाका वासिन्दाहरूको मूलभूत विकासका आधारहरूमाथि कार्य हुन्छ र ब्रिगेन गुरूङको नेतृत्वमा अब खरसाङ नगरपालिकाले अझ राम्रो काम गर्नेछन् भन्ने मेरो विश्वास छ साथै नगरवासीले अब नगरपालिकाको असल कार्य देख्नेछन् भनी विश्वास व्यक्त गरेका छन्। 20 जना नगर पार्षदहरूले बनिएको नगरपालिका हो खरसाङ नगरपालिका र एकजना पार्षदको निधन भएको थियो। आजको बैठकमा 19 जना पार्षद पार्षदिकाहरूमध्ये 15 जना पार्षद-पार्षदिकाहरूको उपस्थिति रहेको थियो। निष्कासित चेयरम्यान कृष्ण लिम्बू अनि वार्ड नम्बर 9 का पार्षद शान्ति राई अनुपस्थित थिए भने दुईजना पार्षद कोभिड संक्रमण भएकोले गर्दा उपस्थित हुन सकेनन्। यी दुवै पार्षदहरूले नयाँ चेयरम्यानलाई समर्थन जनाएनन्। बैठकमा म्याजिस्ट्रेटलाई प्रतिनिधित्व गर्दै डेपुटी म्याजिस्ट्रेट कुन्तल बोस अनि राज्य सरकारलाई प्रतिनिधित्व गर्दै नगरपालिकाका एक्जिक्युटिभ अफिसर रामकृष्ण दत्त अनि फाइनान्स अफिसर सुनिल चन्द्र उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *