बिहे भएको केही महिनामै गृहिणीको मृत्यु, आमाले गरिन् उचित जाँचको माग

सिलगढी : एउटी आमाले छोरीको मृत्युको लागि ससुराल पक्षलाई दोषी ठहराउँदै उक्त घटनाको जाँच गर्नको साथै आरोपीलाई उचित सजाय दिनुपर्ने माग गरेकी छन्। प्राप्त जानकारीअनुसार 23 नोभेम्बर 2019-मा मतिगढा निवासी चयनिका पालको बिहे शिव मन्दिर निवासी चन्दन पालसित भएको थियो। बिहेको केही महिनापछि चयनिका पालको मृत्यु भएपछि मृतककी आमा सम्पा पालले ससुराल पक्षले नै तिनको छोरीको हत्या गरेको आरोप लगाएकी छन्। तिनले बताएअनुसार गत 14 अप्रेल 2020-मा तिनको छोरी उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएकोबारे ससुरालबाट फोन गरेको थियो। तर तिनी मेडिकल पुगेपछि छोरीको मृत्यु भएकोबारे थाहा पाइन्। तिनकी छोरी चयनिकाले फाँसी लगाएर आत्महत्या गरेको ससुराल पक्षले बताए तापनि तिनले छोरीको शरीरमा चोटको निशानहरू देखिन्। यसपछि तिनले मतिगढा थानामा छोरीको ससुरालविरुद्ध एउटा लिखित अभियोग दर्ता गरेकी थिइन् भने पुलिसको तर्फबाट कुनै कार्वाही नगरेको तिनको आरोप रहेको छ। यसैले सम्पा पालले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर छोरीको मृत्युको उचित जाँच गरिनुपर्ने साथै आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरेकी छन्। यस सम्बन्धमा चन्दन पाल र तिनका परिवारसित फोनमार्फत् सम्पर्क गर्ने प्रयास गरे तापनि फोन बन्द रहेको कारण सम्पर्क नभएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *