बाइक चोरी गरेको आरोपमा युवक पक्राउ

सिलगढी (निसं): मात्र 6 दिनको अवधिमा नै सिलगढीको मतिगढा पुलिसले चोरी भएको बाइक उद्धार गरेको छ। यसको साथै उक्त मामिलामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। आरोपीको नाम दीप छेत्री हो। तिनी सिलगढी निगर निगमको 4 नम्बर वार्ड अन्तर्गत ज्योतिनगर इलाका निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार गत 21 अप्रेलमा मतिगढाको तुम्बाजोत इलाकाबाट बाइक चोरी भएको थियो। बाइक मालिकले विभिन्न ठाउँमा बाइकको खोजी गरे तापनि बाइकको पत्तो लागेन। यसपछि 22 अप्रेलको दिन बाइकको मालिकले मतिगढा थानामा घटनाबारे अभियोग दर्ता गरेको थियो। यसपछि अभियोगको आधारमा जाँचमा जुटेको मतिगढा थानाको पुलिसले सादा पोशाकमा मतिगढा थाना अन्तर्गत ठोकर इलाकाबाट बाइक उद्धार गर्नको साथै बाइक चोरी गरेको आरोपमा दीप छेत्रीलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार दीप छेत्रीले योजना अनुसार बाइक चोरी गरेर आइतबार विधान नगरमा बिक्री गर्नका लागि लगिरहेको थियो। तर यसभन्दा अगावै पुलिसले बाइक सहित तिनलाई पक्राउ गऱ्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, आफ्नो बाइक फिर्ता पाएपछि बाइक मालिक धेरै खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *