विलास ‘बिमा’ राई चित्रकला प्रतियोगिताको फाइनल 27 सेप्टेम्बर मङपुमा हुने

मङपु : ‘हाम्रो मङपु राम्रो मङपु संस्थाद्वारा आयोजित चित्रकार तथा कार्टुनिस्ट दिवङ्गत विलास बिमा राईको नाममा राखिएको चित्रकला प्रतियोगिताको फाइनल आगामी 27 सेप्टेम्बर आइतबारको दिन सम्पन्न हुने भएको छ। मङपु बीचकमान निवासी दिवङ्गत विलास बिमा राई नेपाली दैनिक समाचार पत्रिका “सुनचरी” अनि नेपालबाट प्रकाशित हुने चर्चित मासिक पत्रिका हिमाल-का पोख्त  कार्टुनिस्ट साथै एकजना असल चित्रकार थिए। आज ती नै विलास राईको कलालाई  जीवन्त राख्न श्रद्धासुमन अर्पण गर्दै हाम्रो मङपु राम्रो मङपु संस्थाले लकडाउनको समयमा पनि स्थानीय चित्रकारहरूलाई प्रोत्साहन गराउने उद्देश्य लिएर अनलाइन चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो। विद्यार्थीहरूमा अहिलेको आधुनिक तक्निकी मोबाइल अनि ईन्टरनेट जस्ता कुराहरूमा मात्र अधिक प्रभाव बढेको  समयमा चित्रकारिता कलालाई पनि जीवन्त राख्न “हाम्रो मङपु राम्रो मङपु”-ले यस चित्रकला प्रतियोगिता राखिएको आयोजक समितिले जनाएको छ।


साहित्य, कला अनि सङ्गीत क्षेत्रको नामले परिचय बोकेको मङपुले यसपल्ट स्थानीय चित्रकार नानीहरूले अति नै  सुन्दर  चित्र बनाएर मङपुको कला क्षेत्रलाई पनि पछि पर्न नदिएको देखिन्छ। मङपुका चित्रकार विद्यार्थीहरूलाई मात्र लिएर गरिएको यस चित्रकला प्रतियोगितामा चित्रकारहरूले एकदमै उच्च स्तरीय चित्र बनाएकोले तिनीहरूले बनाएको उत्कृष्ट चित्रहरू हेरेपछि निर्णायकगणलाई निर्णय लिइन निक्कै चर्को परेको थियो। सेमिफाइनल राउन्डमा 20 जना चित्रकारहरूलाई राखेर तिनीहरूले बनाएको उच्च स्तरीय चित्र हेरेपछि 10 जना छनौट गर्नुपर्ने ठाँउमा 14 जनालाई छनौट गरिएको आयोजक समितिका बिभोर सिङदनले जानकारी दिएका छन्। यसैगरी, आगामी 27 सेप्टेम्बर दिउँसो 1 बजी यहाँको सरस्वती विद्यालय भवनमा यस चित्रकला प्रतियोगिताको फाइनल राउन्ड विभिन्न रगारङ्ग कार्यक्रमको साथमा  सम्पन्न हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *