बिमल गुरूङद्वारा मिरिकको एसटीपी लाइन, कलेज अनि भवनहरूको स्थलगत निरीक्षण

मिरिक (निसं): मिरिक भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले आज सोमबार आफू जीटीएका प्रमुख कार्यपाल हुँदा मिरिकमा निर्माण भएका भवनहरूको स्थलगत भ्रमण अनि निरीक्षण गरे। तिनले आज मिरिक झीलमा शुद्ध पानी पुऱ्याउनको लागि निर्माण गरेको एसटीपी लाइन, मिरिक डिग्री कलेज, मिरिक अग्नि शमन केन्द्र, सरकारी पोलटेकनिक कलेज,एक्युरियम आदिको स्थलगत भ्रमण गरेर वस्तुस्थितिको निरीक्षण गरे। मिरिक एसटीपी लाइनको भ्रमण गरेपछि पत्रकारहरूसित कुरा गर्दै तिनले भने मिरिकको पर्यटनलाई विकसित गर्न अनि मिरिक झील परिसरका नाला अनि झोडाहरूलाई ब्यवस्थित गरेर मिरिक झीलमा शुद्ध पानी पुऱ्याउनको लागि केन्द्र सरकारको सहयोगमा करोडौ रूपियाँ खर्च गरेर एसटीपी लाइन शुरू गरेका थियौ जौ आजसम्म सञ्चालनमा आउन नसक्नु खेदको कुरा हो। हामीले मिरिकको हितको लागि बनाई दिएको कुरालाई संरक्षण गर्ने दायित्व हालको सत्तापक्षको रहेता पनि तिनीहरूले यस विषयमा उदासिनता देखाएको बिमल गुरूङले अभियोग लगाए। तिनले मिरिक झीलमा एसटीपी लाइन सञ्चालन भएको भए मिरिक झील सफा हुने अनि यहाँको पर्यटन उद्योग अझ विकसित भएर जाने थियो जसको सोझै लाभ मिरिकवासीलाई नै हुनेथियो भनि तिनले बताए।


यसरी नै मिरिक डिग्री कलेज पुगेपछि गुरूङले भने, मिरिक कलेज हामीले जस्तो बनाएका थियौ अझसम्म त्यस्तै अवस्थामा रहेछ। यहाँ कला वाहेक अन्य विषय छैन रहेछ। यहाँको शैक्षिक विकासको लागि हामीले कलेज निर्माण गरेका थियौ। आज पनि यहाँका विद्यार्थीहरू विज्ञान, वाणिज्य जस्ता विषयको लागि अन्य ठाउँ नै जान पर्ने आवस्था रहेकोले यो अति दुखको कुरा हो। यसैगरी, मिरिक अग्नि शमन केन्द्र पुगेपछि मिरिकमा अग्नि शमन केन्द्र स्थपना भयो तर यहाँका स्थानीय शिक्षितहरूले यहाँ नियुक्ति पाउन सकेको छैन। स्थानीयहरूले रोजगार आफ्नै ठाँउमा पाए असल हुनेछ भनि बिमलले बताए। यसैगरी, तिनले आज मिरिक पोलटेक्निक कलेज मिरिक झील परिसरमा निर्माण भएको एक्युरियम आदिको पनि निरीक्षण गरे। यसपछि तिनले पत्रकारहरूसितको कुराकानीमा अहिलेका ब्यवस्थाबाट मिरिकमा केही विकास कार्य नभएको साथै पुरानो बनिएकोहरूको पनि उचित देखरेख तथा संरक्षण नगरेको बताए। यस भ्रमण अवधि बिमल गुरूङको साथमा मोर्चा नेताहरू दिपेन माले, योगेस गोले, राजीव राई, अभिषेक श्रेष्ठ, विनोद खालिङ, जिगमी तामाङ, अर्पण राई, नारी मोर्चा केन्द्रीय साङ्गठनिक सचिव ललिता छेत्री आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *