बिमल गुरूङको दार्जिलिङमा तीन वर्षपछि विराट जनसभा

दार्जिलिङ : लगभग साढे तीन वर्षपछि दार्जिलिङ सव डिभीजन कमिटीद्वारा आयोजित गोजमुमो बिमल खेमाको जनसभा आज दार्जिलिङको मोटर स्ट्यान्डमा सम्पन्न भयो। उक्त जनसभामा उपस्थित भएका गोजमुमो अध्यक्ष बिमल गुरूङलाई नारी मोर्चाको तर्फबाट 11 सयवटा सयपत्री फुलको माला लगाई दिएर भव्य स्वागत जनाइयो। आजको महा जनसभालाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष बिमल गुरूङले भाजपाको खोइरो खने। आफुसँगै  दार्जिलिङको सम्पूर्ण जनताको भाजपाले 12 वर्षको आयु खाइसकेको तिनले आरोप लगाए। आफूहरू अन्धा भक्त भएर भाजपालाई भरोसा गर्नको साथै बिना शर्त भाजपालाई 3 पल्ट जिताएर पठाए तापनि भाजपाले हालसम्म केही दिन नसकेको बताए। केन्द्र सरकारले गोर्खाहरूको छुटेको 11 जातगोष्ठी जनजातिको मर्यादा दिन्छु भनेर वचन दिए तापनि हालसम्म कुनै पहल नगरेको तिनले बताए। तिनले अनित थापाको नाम उल्लेख नगरी जीटीए चलाउने व्यक्तिले राज्य सरकारद्वारा प्रदान गरेको रूपियाँ सटीक रूपमा खर्च नगरेको आरोप लगाए। तिनले दशैंतिहारमा आफु नभएको तर अब क्रिसमसको क्यारोल खेल्न सबैलाई नियन्त्रणा गर्दै क्रिसमसको हार्दिक शुभकामना दिए।


यसैगरी, जनसभालाई सम्बोधन गर्दै महासचिव रोशन गिरीले 2017-को आन्दोलन गोर्खा जातिको निम्ति एउटा विराट आन्दोलन रहेको बताउँदै त्यस समय गोर्खा जातिले केही उपलब्धि हासिल गर्न आँटेको थियो भने राज्य र केन्द्र सरकार समेत डराइसकेको थियो तर हाम्रा दुई नेता बिक्री भएपछि गोर्खाल्याण्डको आन्दोलन बिथोलिएर गएको आरोप लगाए। गोजमुमोका संस्थापक अध्यक्ष गोर्खाल्याण्ड मागमा अडिग भएर अघि बढ्दै जाँदा विभिन्न प्रकारको समस्याहरूको सामना गर्न पर्यो। बिमल खेमाका कतिपय नेताहरू विस्थापित भए तापनि गोर्खाल्याण्डको आन्दोलनलाई तिलाञ्जलि नदिएको तिनले बताए। 2009 देखि गोजमुमो बिमल खेमाले भाजपालाई सघाउँदै आइरहे तापनि भाजपाले गोर्खाहरूलाई ढाटेर, छलेर झुटको राजनीति गरिरहेको तिनले आरोप लगाए। बंगालको भाजपा र केन्द्रको दृष्टिकोण गोर्खाहरूमाथि राम्रो नरहेकोले गर्दा नै आफूहरूले राजनैतिक स्ट्यान्ड चेन्ज गरेको बताए। आजको जनसभामा महासचिव रोशन गिरी, आशा गुरूङ, गोजमुमो प्रवक्ता बिनिता रोका, युवा मोर्चा केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ, गोजमुमो कार्यकारिणी अध्यक्ष डा. लोप्साङ लामा, भूतपूर्व सभासद साबित्री राई, केन्द्रीय समितिका उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय समितिका अन्य नेतृत्वगण, दार्जिलिङ तराई डुवर्स लेबर युनियनका सदस्यहरू, भातृ संगठनहरू, नारी मोर्चा, युवा मोर्चा, विद्यार्थी मोर्चाका सदस्यहरू लगायत धेरै संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *